सिरहा । रसुवाको भोटेकोशीमा भदौ १० गते आएको विनाशकारी बाढी पहिरोबाट प्रभावित परिवारको सहयोगार्थ गोलबजारस्थित हिमालयन पब्लिक स्कुलले ८१ हजार १८१ रुपैयाँ राहत सहयोग गरेको छ ।
विद्यालयमा प्ले ग्रुप (पीजी)देखि कक्षा १० सम्म अध्ययनरत विद्यार्थीले आफूले खाजाका लागि पाउने रकममध्ये केही हिस्सा बचाएर विपद् प्रभावित परिवारका लागि सहयोग गरेका हुन् ।
विद्यार्थीले सञ्चालन गरेको अभियानमा शिक्षक तथा कर्मचारीले समेत साथ दिएका थिए । विद्यालयले पनि अभियानमा थप सहयोग गरेको कार्यकारी निर्देशक मानबहादुर लामाले जानकारी दिए ।
‘विद्यार्थीहरूले आफूले दैनिक खाजाका लागि पाउने रकममध्ये केही हिस्सा विपद्मा परेका परिवारको सहयोगका लागि छुट्याएका हुन् । सानै उमेरदेखि विद्यार्थीमा मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको भावना विकास गराउने उद्देश्यले पनि यो अभियान महत्वपूर्ण छ,’ लामाले भने ।
‘रकमभन्दा भावना ठूलो छ’
विद्यालयका प्रधानाध्यापक तथा संस्थापक पुरुषोत्तम बुढाथोकीले विद्यार्थीहरूले आफ्नो खाजाको पैसा बचाएर विपद् प्रभावित परिवारलाई सहयोग गर्नु सकारात्मक र प्रेरणादायी कार्य भएको बताए ।
‘हामीले विद्यार्थीलाई किताबको ज्ञान मात्र होइन, समाज र दुःखमा परेका मानिसप्रति जिम्मेवार बन्न पनि सिकाउनुपर्छ । आफ्नै खाजाको पैसा कटाएर विपद् पीडितका लागि सहयोग गर्नु विद्यार्थीहरूको ठूलो मानवीय भावना हो,’ उनले भने, ‘रकम जति भएपनि त्यसमा जोडिएको भावना र सहयोग गर्ने संस्कार महत्वपूर्ण हुन्छ ।’
बाढी पहिरोका कारण प्रभावित परिवारहरू संकटमा परिरहेका बेला उनीहरूको दु:खमा साथ दिने उद्देश्यले विद्यालय परिवारले संयुक्त रूपमा राहत रकम संकलन गरेको जनाएको छ ।
विद्यालय प्रशासनका अनुसार विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालयको संयुक्त पहलमा संकलित ८१ हजार १८१ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको छ ।
विद्यालयले यस्ता अभियानले विद्यार्थीमा मानवीय संवेदना, सामाजिक उत्तरदायित्व र सहयोगी भावनाको विकास गराउनुका साथै विपद्का बेला समाजमा एकता र सहकार्यको सन्देश समेत प्रवाह गर्ने विश्वास व्यक्त गरेको छ ।




