बारा । बाराको कलैया उपमहानगरपालिका २३ स्थित कलैया–वीरगञ्ज सडकखण्डमा जिपको ठक्करबाट एक युवकको मृत्यु भएको छ । बुधबार राति करिब सवा ९ बजे वीरगञ्जबाट कलैयातर्फ आउँदै गरेको ना १ ज ६४०३ नम्बरको जिपले गार्डेन भ्यु रिसोर्टनजिकै पैदल हिँडिरहेका अन्दाजी २२/२३ वर्षीय युवकलाई ठक्कर दिएको थियो ।
जिपको ठक्करबाट गम्भीर घाइते भएका युवकलाई प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल कलैया पुर्याएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पताल पठाइएको थियो ।
एलएस न्युरो अस्पतालमा उपचारका क्रममा राति साढे १० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मृतकको शव एलएस न्युरो अस्पतालमै राखिएको छ ।
प्रहरीले दुर्घटनामा संलग्न जिप र चालकलाई नियन्त्रणमा लिएको जनाएको छ । मृतक युवकको हालसम्म पहिचान खुल्न सकेको छैन । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।




