पश्चिम नवलपरासी । पश्चिम नवलपरासीमा भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइएका १ करोड १५ लाख रुपैयाँ हाराहारी मूल्य पर्ने ठूलो परिमाणका मोबाइल एक्सेसरिज प्रहरीले बरामद गरेको छ ।
बरामद सामानमा सेतो एयरपड्स १ हजार ७५५ थान, कालो एयरपड्स ५३९ थान, कालो टेम्पर्ड ग्लास ३९ हजार ८०० थान, सेतो टेम्पर्ड ग्लास ४ हजार ५०० थान र मोबाइल कभर ९३० थान रहेका छन् । त्यसैगरी सामान राख्न प्रयोग गरिएको एक बोरा प्लास्टिक र पिकअप गाडी समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका अनुसार आज बिहान करिब ४:३५ बजे सरावल गाउँपालिका ७ स्थित भन्सार टोलमा भारतबाट नेपालतर्फ ल्याई लु ३ च २९३९ नम्बरको पिकअप गाडीमा लोड गरिएको अवस्थामा सामान बरामद गरिएको हो ।
प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरी निरीक्षकसहितको टोली र सशस्त्र प्रहरी बल, बीओपी मुजुवाबाट खटिएको संयुक्त टोलीले गाडी नियन्त्रणमा लिएर जाँच गर्दा विभिन्न प्रकारका मोबाइल एक्सेसरिज फेला पारेको थियो ।
बरामद सामान र गाडीलाई आवश्यक कारबाही तथा भन्सार प्रयोजनका लागि इलाका प्रहरी कार्यालय महेशपुरमा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी महेश थापाले जानकारी दिए ।




