पर्सा । जिल्लाका छुट्टाछुट्टै स्थानबाट प्रहरीले अवैध लागूऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । सखुवा प्रसौनी गाउँपालिका २ स्थित श्रीपुर बजारबाट १ सय १० ग्राम गाँजासहित सोही ठाउँका २६ वर्षीय राकेश सहनीलाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले सहनीको पसल तलासी गर्दा उक्त गाँजा फेला पारेपछि उनलाई पक्राउ गरेको जनाएको छ ।
त्यस्तै, पटेर्वा सुगौली गाउँपालिका ५ स्थित मनिहर्वा चोकबाट ३ सय ३५ ग्राम गाँजासहित पोखरीया नगरपालिका ४ सतवरियाका ६६ वर्षीय पुनि मुखियालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले मुखियालाई उक्त गाँजासहित पक्राउ गरेको हो । दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।




