सप्तरी । राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकी महिलाले अस्पतालअगाडिको सडक पेटीमा शिशु जन्माएको घटनाबारे संघ, प्रदेश र जिल्लास्तरमा छुट्टाछुट्टै तीन वटा छानबिन समिति गठन भएका छन् ।
घटनाको सत्यतथ्य पत्ता लगाउन गठित तीनै समितिले छानबिन प्रक्रिया अघि बढाइसकेका छन् । समितिले घटनाका बेला कार्यस्थलमा खटिएका स्वास्थ्यकर्मी, चौकीदार, सरसफाइकर्मी तथा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जीतेन्द्र कँडेलसँग समेत सोधपुछ गरिसकेको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राञ्जित झाका अनुसार छानबिन टोलीले घटनाको प्रकृति, पीडित महिलाको अवस्था, स्वास्थ्यकर्मीको व्यवहार तथा घटनासँग सम्बन्धित अन्य पक्षबारे अनुसन्धान गरिरहेको छ । घटना भएको दिन आफू काम विशेषले काठमाडौंमा रहेको उनले बताए ।
घटनापछि अस्पताल प्रशासनले प्रसूति वार्डमा कार्यरत चार जना स्वास्थ्यकर्मी, एक जना चौकीदार र एक जना सरसफाइकर्मी गरी छ जनालाई तत्काल निलम्बन गरेको छ ।
छानबिन समितिको अन्तिम प्रतिवेदनका आधारमा निलम्बित कर्मचारीबारे थप निर्णय गरिने डा. झाले बताए । छानबिनका लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार सुप्रभात श्रेष्ठको नेतृत्वमा समिति गठन गरेको छ ।
त्यस्तै, मधेस प्रदेशसभाको महिला, बालबालिका तथा सामाजिक न्याय समितिले सदस्य किरणकुमारी साहको नेतृत्वमा र जिल्ला प्रशासन कार्यालयले जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. सतिशकुमार यादवको नेतृत्वमा छुट्टाछुट्टै समिति गठन गरेको हो ।
तीनै समितिलाई आ–आफ्नो ढंगले घटनाको सत्यतथ्य बुझेर सात दिनभित्र सम्बन्धित निकायमा प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ ।
रकम अभावमा सडक पेटीमा प्रसूति
घटना करिब तीन दिनअघि भएको हो । राजविराज नगरपालिका १४ परसाही टोलकी ३० वर्षीया बबिता पासमान सुत्केरी व्यथा लागेपछि गजेन्द्रनारायण सिंह अस्पताल पुगेकी थिइन् । तर, उपचारका लागि आवश्यक रकम अभाव भएपछि उनी अस्पतालबाट बाहिरिएकी थिइन् ।
अस्पतालका स्वास्थ्यकर्मीले पुर्जामा लेखिदिएको ३ हजार २ सय रुपैयाँको जाँच गराउन समेत पैसा नभएपछि रकमको जोहो गर्न बाहिर निस्किएका बेला उनलाई प्रसव पीडा सुरु भएको थियो । त्यसपछि उनले अस्पतालको गेटअगाडिको सडक पेटीमै चौथो सन्तानका रूपमा शिशुलाई जन्म दिएकी थिइन् ।
यसअघि बबिताले आफ्ना तीन सन्तानलाई बर्थिङ सेन्टर तथा अस्पतालमा जन्म दिएकी थिइन् । तर, आर्थिक अभावका कारण चौथो सन्तानलाई सडक पेटीमै जन्माउनुपरेको घटना सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा सार्वजनिक भएपछि घटनाको चौतर्फी आलोचना भएको थियो ।
घटनाले आर्थिक रूपमा विपन्न नागरिकका लागि स्वास्थ्य सेवाको पहुँच, अस्पतालको सेवा प्रवाह तथा स्वास्थ्यकर्मीको जिम्मेवारीबारे गम्भीर प्रश्न उठाएको छ । यही विषयमा सत्यतथ्य पत्ता लगाउन संघ, प्रदेश र जिल्लास्तरबाट तीन छुट्टाछुट्टै छानबिन समिति गठन गरी अनुसन्धान अघि बढाइएको हो ।




