रौतहट । रौतहटको सदरमुकाम गौर प्रवेश गर्ने प्रमुख नाका गौर भन्सार कार्यालय क्षेत्र अहिले फोहोर र दुर्गन्धका कारण कुरूप बन्दै गएको छ । नेपाल प्रवेश गर्ने प्रमुख नाकामध्ये एक गौर भन्सार कार्यालयअगाडिको सडक छेउ तथा आसपासका खाली क्षेत्रमा प्लास्टिक, बोतल, कागजलगायतका फोहोर यत्रतत्र छरिएका छन् । फोहोरको थुप्रो बढ्दै जाँदा भन्सारको मुख्य प्रवेश क्षेत्र नै दुर्गन्धित र अव्यवस्थित बनेको छ ।
सीमावर्ती क्षेत्र भएकाले दैनिक ठूलो संख्यामा स्थानीय, यात्रु तथा आगन्तुकको आवतजावत हुने यो क्षेत्र गौरको ‘पहिलो परिचय’ पनि हो । तर, प्रवेशद्वारमै फोहोरको थुप्रो देखिन थालेपछि गौरलाई सफा, सुन्दर र व्यवस्थित शहरका रूपमा चिनाउने प्रयासमाथि प्रश्न उठेको छ ।
भन्सारको गेटमै फोहोर, जिम्मेवार निकाय कहाँ ?
फोहोर जथाभावी फाल्ने नागरिकको गैरजिम्मेवारी एउटा पक्ष हो । तर, सार्वजनिक स्थलमा नियमित रूपमा फोहोर संकलन गर्ने, व्यवस्थापन गर्ने र सरसफाइ कायम राख्ने जिम्मेवारी सम्बन्धित निकायको पनि हो ।
भन्सार क्षेत्रमै नियमित रूपमा फोहोर थुप्रिँदा फोहोर कसले फालिरहेको छ, नियमित रूपमा किन उठाइँदैन र फोहोर व्यवस्थापनका लागि जिम्मेवार निकायले अनुगमन गरिरहेको छ कि छैन भन्ने प्रश्न उठेको छ ।
एकपटक सरसफाइ अभियान सञ्चालन गरेर फोटो खिच्नु मात्र पर्याप्त नहुने स्थानीयको भनाइ छ । फोहोर संकलनको नियमित व्यवस्था, पर्याप्त डस्टबिनको व्यवस्थापन, प्रभावकारी अनुगमन तथा जथाभावी फोहोर फाल्नेलाई निरुत्साहित गर्ने अभियान आवश्यक देखिएको छ ।
‘सफा गौर’ नारामा होइन, व्यवहारमा देखिनुपर्ने
शहर सफा राख्ने विषय भाषण र नारामा मात्र सीमित नभई व्यवहारमै देखिनुपर्ने स्थानीयको भनाइ छ । गौरको प्रवेशद्वारमै फोहोरको थुप्रो देखिँदा त्यसले शहरको सौन्दर्यमात्र नभई सार्वजनिक स्वास्थ्य र पर्यटकीय छविमा समेत नकारात्मक असर पार्न सक्ने उनीहरूको चिन्ता छ ।
‘पर्यटक तथा आगन्तुकलाई स्वागत गर्ने प्रवेशद्वारमै फोहोरको थुप्रो देखिनु गौरको पहिचानका लागि दु:खद विषय हो । सम्बन्धित निकायले तत्काल सरसफाइसँगै दीर्घकालीन फोहोर व्यवस्थापनको योजना बनाउनुपर्छ,’ एक स्थानीयले भने ।
गौरको मुख्य प्रवेश क्षेत्रमै देखिएको फोहोरको अवस्थाले एउटा गम्भीर प्रश्न समेत खडा गरेको छ- ‘गौरलाई सफा र सुन्दर शहर बनाउने जिम्मेवारी कसको हो ?’
सम्बन्धित निकायले समयमै ध्यान नदिए भन्सार क्षेत्रको फोहोर दुर्गन्ध र अव्यवस्थाको समस्या मात्र नरही गौरको पहिचान तथा स्थानीय तहको फोहोर व्यवस्थापन क्षमतामाथि समेत प्रश्न उठ्ने विषय बन्न सक्छ ।




