सर्लाही । उत्तरी चुरे क्षेत्रमा पर्ने ईश्वरपुर नगरपालिका १२ कालिन्जोर घारिबथानका बस्तीमा खानेपानीको चरम अभाव भएको छ । तीन दिनअघि बाँकेखोलामा आएको बाढीले खानेपानी आपूर्ति गर्ने पाइप बगाएपछि करिब ७ सय घरधुरी प्रभावित भएका छन् ।
स्थानीयले लामो समयदेखि खोलामा रहेका प्राकृतिक मुहानबाट पाइपमार्फत पानी ल्याएर उपभोग गर्दै आएका थिए । बाढीले मुख्य पाइप नै बगाएपछि अहिले नियमित खानेपानी आपूर्ति ठप्प भएको हो ।
खानेपानीको अभाव भएपछि स्थानीयहरू टाढाटाढाबाट पानी बोकेर ल्याउन बाध्य भएका छन् । साइकल, मोटरसाइकल, ट्र्याक्टर तथा डोकोमा गाग्री राखेर पानी खोज्न जानेको संख्या बढेको छ । पिउने पानीसँगै खाना पकाउन, भाँडा माझ्न, कपडा धुन र पशुचौपायालाई खुवाउन समेत पानीको समस्या भएको स्थानीयको भनाइ छ ।
धमिलो पानी पिउनुपर्ने बाध्यता
लगातार वर्षा भइरहेका कारण गाउँ आसपासका कुवा, खोल्सा तथा अन्य पानीका स्रोतमा समेत धमिलो पानी आउने गरेको छ । धारामा पानी आउन छाडेपछि स्थानीयले बाध्य भएर त्यही पानी प्रयोग गर्न थालेका छन् । धमिलो पानी प्रयोग गर्न थालेपछि केही स्थानीयमा घाँटी दुख्ने तथा घाँटीमा असहजता हुने समस्या देखिन थालेको बताइएको छ ।
दूषित पानीका कारण थप स्वास्थ्य समस्या निम्तिन सक्ने भन्दै स्थानीय चिन्तित छन् । तीजको समयमा गाउँमा पाहुनाको चहलपहल समेत बढेका बेला खानेपानीको समस्या थप गम्भीर बनेको स्थानीयको भनाइ छ ।
पाइप मर्मतका लागि चन्दा उठाउनुपर्ने अवस्था
बाढीले क्षति पुर्याएको खानेपानी संरचना तत्काल मर्मत गर्न स्थानीयस्तरबाट पहल थालिएको छ । पाइप मर्मतका लागि घरधुरीबाट रकम संकलन गर्न थालिएको बताइएको छ । यता, बाढीबाट क्षतिग्रस्त संरचना मर्मतका लागि नगरपालिकाबाट जेसिबी परिचालन गर्ने तयारी गरिएको छ ।
खानेपानीको पाइप पुन: बिछ्याएर आपूर्ति नियमित गर्ने प्रयास भइरहेको स्थानीय जनप्रतिनिधिले बताएका छन् । बाढीका कारण नयाँटोल, पाँच नम्बर, सुकेपुर, चाकलटोल, आँपबोटे र स्कुलटोललगायत बस्ती प्रभावित भएका छन् ।
करोडौँ खर्चिए पनि दिगो समाधान भएन
घारिबथान क्षेत्रमा खानेपानीको समस्या नयाँ भने होइन । स्थानीयका अनुसार खानेपानी व्यवस्थापनका लागि सङ्घीय, प्रदेश तथा स्थानीय सरकारका साथै विभिन्न गैरसरकारी निकायले वर्षेनी ठूलो रकम खर्च गर्दै आएका छन् ।
विभिन्न समयमा खानेपानीका आयोजना निर्माण तथा विस्तार गरिए पनि ती आयोजना दीर्घकालीन रूपमा प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ । बाढीले पाइप बगाएपछि देखिएको पछिल्लो संकटले चुरे क्षेत्रका बस्तीमा खानेपानीको संरचना निर्माण गर्दा प्राकृतिक विपद् र भौगोलिक अवस्थालाई ध्यान दिनुपर्ने आवश्यकता झन् स्पष्ट पारेको छ ।




