रौतहट । रौतहटमा रातको समयमा लालबकैया खोलामा काठ बगाएर तस्करी गर्ने प्रयास भएको छ । वन कर्मचारीको गस्ती टोली घटनास्थल पुगेपछि तस्करीमा संलग्न समूहले काठ खोलामै छाडेर फरार भएको छ ।
डिभिजन वन कार्यालय रौतहटको टोलीले सोमबार बिहान करिब २ बजे जङ्गलसहिया सबडिभिजन वन कार्यालयअन्तर्गत लालबकैया खोलाको गर्जा पुलबाट करिब २०० मिटर माथिल्लो भागमा पानीमा बगिरहेको अवस्थामा सालको काठ बरामद गरेको हो ।
रातिको समयमा गस्ती तथा निगरानीमा रहेको वन अधिकृत अनिलकुमार महतो, विनोद जेठरा र शेरबहादुर बुढासहितको टोलीले खोलामा काठ बगिरहेको देखेपछि तत्काल नियन्त्रणमा लिएको थियो ।
काठ बरामद भएको जानकारी पाएपछि जङ्गलसहिया सबडिभिजन वन कार्यालयका कर्मचारी तथा सशस्त्र प्रहरीसहितको थप टोली समेत घटनास्थल पुगेको थियो । वन कार्यालयका अनुसार बरामद काठमा सालका चार थान गोलिया र एक थान चौपाटा रहेका छन् ।
पाँचै थान काठको कुल परिमाण २७.४७ क्युबिक फिट रहेको छ । वन कर्मचारी तथा सुरक्षाकर्मीको टोली देखेपछि काठ बगाएर लैजाने समूह अँध्यारोको फाइदा उठाउँदै घटनास्थलबाट भागेको वन कार्यालयले जनाएको छ ।
बरामद काठ आवश्यक कानुनी प्रक्रिया पूरा गरी वन कार्यालयको नियन्त्रणमा राखिएको छ । घटनामा संलग्न व्यक्तिहरूको पहिचान तथा खोजी भइरहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ ।
अवैध वन पैदावारको कटानी तथा चोरी तस्करी नियन्त्रण गर्न पछिल्लो समय रातिको समयमा समेत गस्ती र निगरानी बढाइएको वन कार्यालयले जनाएको छ । सुरक्षाकर्मीको समन्वयमा वन क्षेत्रबाट हुने अवैध कटानी तथा वन पैदावारको ओसारपसार नियन्त्रणमा थप कडाइ गरिने कार्यालयको भनाइ छ ।




