रौतहट । रौतहटमा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर भन्सार कार्यालयमा बुझाएको करिब ३ हजार २०० किलो ब्रोइलर कुखुरा र तीनवटा पिकअप गाडी फिर्ता गरिएको छ । तर, सोही क्रममा बरामद भएको स्रोत नखुलेको ४ लाख रुपैयाँमाथि भने अनुसन्धान अघि बढाइएको छ ।
बौधिमाई नगरपालिका ८ स्थित हनुमान मन्दिर नजिक शनिबार राति सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हेडक्वार्टर रौतहटबाट खटिएको टोलीले तीनवटा पिकअपमा लोड गरिएको ब्रोइलर कुखुरा नियन्त्रणमा लिएको थियो । कुखुरासहित तीनवटा सवारी साधन र त्यसमा संलग्न ६ जनालाई आवश्यक कारबाहीका लागि सशस्त्र प्रहरीले गौर भन्सार कार्यालयमा बुझाएको थियो ।
भन्सार कार्यालयले गरेको प्रारम्भिक अनुसन्धानका क्रममा बरामद कुखुरा भारतीय भएको पुष्टि हुने पर्याप्त प्रमाण नदेखिएपछि आइतबार दिउँसो कुखुरा र तीनवटै पिकअप फिर्ता गरिएको भन्सार कार्यालय प्रमुख विकासकुमार रजकले बताए ।
उनका अनुसार सो क्रममा बरामद भएको स्रोत नखुलेको ४ लाख रुपैयाँको विषयमा भने अनुसन्धान प्रक्रिया अघि बढाइएको छ । उक्त रकम थप अनुसन्धानका लागि आन्तरिक राजस्व कार्यालय सिमरा पठाइएको उनले जानकारी दिए ।
भन्सार कार्यालयका अनुसार ४ लाख रुपैयाँ धरौटी तथा सवारीसाधनबापत थप १ लाख रुपैयाँ बुझाएपछि कुखुरा, पिकअप र नियन्त्रणमा लिइएका ६ जनालाई छाडिएको हो ।
बरामद सामानको मूल्यांकन ८६ लाखभन्दा बढी
सशस्त्र प्रहरीका अनुसार प्रारम्भिक मूल्यांकनमा कुखुरा, पिकअप तथा अन्य सामग्रीसहित बरामद सामानको कुल अनुमानित मूल्य ८६ लाख ६० हजार रुपैयाँ कायम गरिएको थियो । त्यसमध्ये ब्रोइलर कुखुराको मात्रै मूल्य करिब ९ लाख ६० हजार रुपैयाँ रहेको बताइएको छ ।
मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी विष्णु भट्टका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिहरूको साथबाट स्रोत नखुलेको ४ लाख रुपैयाँ नेपाली नगद समेत बरामद भएको थियो । सीमावर्ती क्षेत्रबाट कुखुरा ओसारपसार भइरहेको सूचनाका आधारमा सशस्त्र प्रहरी रौतहटका प्रमुख एसपी चेतराज जोशीको कमान्डमा खटिएको टोलीले उक्त कारबाही गरेको थियो ।
भारतीय कुखुरा मिसाएर काठमाडौंसम्म पठाउने दाबी
सीमावर्ती क्षेत्रमा भारतीय कुखुराको अवैध आयात भइरहेको व्यवसायीहरूले दाबी गर्दै आएका छन् । स्थानीयका अनुसार भारतको बिहारस्थित पूर्वी चम्पारणको झरौखर थाना क्षेत्रअन्तर्गत बैनाथपुरमा रहेका पोल्ट्री फार्मबाट कुखुरा खरिद गरी सीमावर्ती नेपाली क्षेत्रमा रहेका पोल्ट्री फार्मसम्म साइकल तथा मोटरसाइकलमार्फत ल्याउने गरिएको छ । त्यहाँ दिनभर कुखुरा भण्डारण गरेपछि रातको समयमा अन्यत्र पठाउने गरिएको स्थानीयको दाबी छ ।
प्रत्यक्षदर्शीका अनुसार नेपाली र भारतीय कुखुरा मिसाएर आफ्नै फार्मको नाममा अनलाइन बिल काटी हेटौंडा हुँदै काठमाडौंसम्म पठाउने गरिएको छ । उनीहरूका अनुसार पठाइने कुखुरामध्ये करिब ३० प्रतिशत नेपाली र ७० प्रतिशत भारतीय हुने गरेको दाबी छ । यद्यपि, भारतीय कुखुरा मिसाएर काठमाडौंसम्म पठाउने गरिएको उक्त दाबीको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ ।
सस्तो भएकाले भारतीय कुखुराको कारोबार बढेको व्यवसायीको भनाइ
व्यवसायीहरूका अनुसार नेपाली ब्रोइलरको तुलनामा भारतीय कुखुरा प्रतिकिलो जिउँदो करिब ५० रुपैयाँसम्म सस्तो पर्छ । मूल्यमा रहेको यही अन्तरका कारण सीमावर्ती क्षेत्रमा भारतीय कुखुराको अवैध कारोबार बढ्दै गएको उनीहरूको भनाइ छ ।
भारतीय कुखुराको अवैध आयातले नेपाली कुखुरा व्यवसायमा प्रतिकूल असर परेको भन्दै कुखुरा उत्पादक संघ रौतहटले लामो समयदेखि आवाज उठाउँदै आएको छ । सीमाबाट हुने अवैध कुखुरा आयात नियन्त्रणमा स्थानीय प्रहरी प्रशासनले पर्याप्त चासो नदिएको आरोप लगाउँदै संघले केही दिनअघि जिल्ला प्रशासन कार्यालय रौतहटअगाडि धर्नासमेत दिएको थियो ।
संघ तथा व्यवसायीहरूले सीमावर्ती क्षेत्रमा निगरानी बढाएर भारतीय कुखुराको अवैध आयात नियन्त्रण गर्न प्रभावकारी अनुगमन र कारबाहीको माग गर्दै आएका छन् ।




