बारा । बाराको कलैया उपमहानगरपालिका ४ अदालत रोडमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
आइतबार राति करिब १० बजे कलैयाबाट गञ्जभवानीपुरतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–०४४ प ०१२३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेट बीआर ०५ एभी ६१३६ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।
दुर्घटनामा भारतीय नम्बर प्लेटको मोटरसाइकल चालक कलैया उपमहानगरपालिका ४ अदालत रोडका ३५ वर्षीय साहेब देवान गम्भीर घाइते भएका थिए । तत्काल उद्धार गरी उपचारका लागि परवानीपुरस्थित एलएस न्यूरो अस्पताल पुर्याइएको थियो ।
उपचारकै क्रममा आइतबार बिहान करिब १० बजे देवानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुर्घटनामा अर्को मोटरसाइकलका चालक करैयामाई गाउँपालिका ७ का ३५ वर्षीय डिके चौधरी पनि गम्भीर घाइते भएका छन् ।
उनको टाउको लगायत शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । चौधरीसँगै मोटरसाइकलको पछाडि सवार सोही ठाउँका १६ वर्षीय अन्जित चौधरी समेत घाइते भएका छन् । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घाइते दुवै जनाको एलएस न्यूरो अस्पताल, परवानीपुरमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न दुवै मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेले जानकारी दिए ।




