जनकपुरधाम । धनुषाको बिदेह नगरपालिका ६ तीनकोरियाबाट अपहरणमा परेका १५ महिने बालकको ११ दिनपछि प्रहरीले सकुशल उद्धार गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषाले सोमबार पत्रकार सम्मेलन गर्दै बालकको उद्धार तथा घटनाबारे जानकारी दिएको हो ।
प्रहरीका अनुसार कमलेश महतोका १५ महिने छोरा सिद्धान्त गत भदौ २८ गते साँझ करिब ४:४० बजे आफ्नै घरको आँगनमा खेलिरहेको अवस्थामा बेपत्ता भएका थिए । बालक हराएको सूचना प्राप्त हुना साथ तालिम प्राप्त कुकुरसहित प्रहरीको विशेष टोली परिचालन गरी खोजतलास तथा अनुसन्धान अघि बढाइएको थियो ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) ओमप्रकाश खनालका अनुसार अनुसन्धानका क्रममा बालकलाई अपहरणकारीले नेपाल तथा भारतका विभिन्न स्थानमा लुकाउँदै राखेको खुलेको थियो । त्यसपछि प्रहरीले निरन्तर निगरानी बढाउँदै सम्भावित स्थानमा घेराबन्दी गरेको थियो ।
सोही क्रममा सोमबार दिउँसो करिब ३:३५ बजे बिदेह नगरपालिका १ स्थित सीमावर्ती दशगज्जा क्षेत्र नजिकबाट बालकको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बालकलाई घरबाट करिब ३०० मिटर दक्षिण सडकछेउको झाडीमा छाडेर भाग्दै गरेको अवस्थामा धनुषाको कमला नगरपालिका ९ की पुनितादेवी पासवानलाई पक्राउ गरिएको हो ।
उद्धार गरिएका बालकलाई प्रहरीले अभिभावकको जिम्मा लगाएको छ । पक्राउ परेकी पासवानविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन तथा ओसारपसार सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




