जनकपुरधाम । जनकपुरधामस्थित ऐतिहासिक श्रीराम मन्दिरको मर्मत सम्भार तथा सौन्दर्यीकरणको काम गरेबापत निर्माण कम्पनीलाई भुक्तानी हुन बाँकी रहेको भन्दै जनकपुरधाम उपमहानगरपालिकाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।
उपमहानगरपालिकाले मन्दिरको मर्मत सम्भार तथा सौन्दर्यीकरणका लागि विनियोजन गरेको बजेटबाट काम सम्पन्न भएपनि निर्माण कम्पनीको रकम भुक्तानी नभएको विषय सार्वजनिक भएपछि नागरिक समाजका अगुवा मुरली मनोहर मिश्रले अख्तियारमा उजुरी दिएका हुन् ।
श्रीराम मन्दिर उपभोक्ता समितिमार्फत ललितपुरस्थित शाक्य मेटल ट्रेडर्सले मन्दिरको मर्मत सम्भार तथा सौन्दर्यीकरणको काम गरेको थियो । निर्माण कम्पनीको २७ लाख ६४ हजार ८१५ रुपैयाँ भुक्तानी हुन बाँकी रहेको मिश्रले बताएका छन् ।
भुक्तानी नपाएपछि महन्थ चन्दा उठाउँदै
निर्माण कम्पनीले लामो समयदेखि भुक्तानीका लागि दबाब दिइरहेको र उपमहानगरपालिकाबाट रकम नपाएपछि मन्दिरका महन्थ रामगिरी बाबा व्यापारी तथा साहु महाजनसँग चन्दा वा सापट माग्न पुग्नुपर्ने अवस्था आएको विषय सार्वजनिक भएपछि आफूले अख्तियारमा उजुरी दिएको मिश्रले बताए ।
उनका अनुसार धार्मिक सम्पदाको मर्मत तथा सौन्दर्यीकरणका लागि गरिएको कामको रकम भुक्तानी नहुँदा मन्दिरका महन्थले नै पसल–पसल पुगेर रकम जुटाउनुपर्ने अवस्था आउनु गम्भीर विषय हो ।
‘उपमहानगरपालिकाले धोका दिएको र निर्माण कम्पनीले निरन्तर भुक्तानीका लागि दबाब दिइरहेको भन्ने कुरा सार्वजनिक भएपछि घटनाको छानबिन र आवश्यक भुक्तानीका लागि पहल होस् भनेर उजुरी दिएको हुँ,’ मिश्रले भने ।
धार्मिक सम्पदाको संरक्षण तथा सौन्दर्यीकरणका नाममा सञ्चालन गरिएको योजनाको काम सम्पन्न भइसकेपछि पनि निर्माण व्यवसायीको रकम भुक्तानी हुन नसकेको विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन उजुरी दिएको उनको भनाइ छ ।
के–के छानबिन गर्न माग ?
अख्तियारमा दर्ता गरिएको उजुरीमा श्रीराम मन्दिर सौन्दर्यीकरण योजनासँग सम्बन्धित सम्झौता, कार्यादेश, निर्माण सम्पन्नता, प्राविधिक परीक्षण तथा भुक्तानी प्रक्रियाको छानबिन गर्न माग गरिएको छ ।
योजनामा अनियमितता वा कानुनविपरीत कार्य भएको पाइए दोषीलाई कानुनबमोजिम कारबाही गर्न र निर्माण कम्पनीलाई भुक्तानी गर्नुपर्ने वैधानिक दायित्व देखिए आवश्यक रकम भुक्तानीको व्यवस्था गर्नसमेत उजुरीमा माग गरिएको छ ।
मिश्रले उजुरी सामाजिक सञ्जालमा समेत सार्वजनिक गरेपछि विषयले थप चर्चा पाएको छ । मन्दिरजस्तो धार्मिक तथा ऐतिहासिक सम्पदाको मर्मत–सम्भारमा भएको खर्चको भुक्तानी रोकिएको विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचनासमेत भइरहेको छ ।
उपमहानगर भन्छ- ‘बाँकी रकम भुक्तानी हुन्छ’
यता जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानहरि घिमिरेले आफूलाई यस विषयमा विस्तृत जानकारी नभएको बताएका छन् । उनले उपमहानगरपालिकाका करिब २५ देखि ३० प्रतिशत योजनाको रकम भुक्तानी हुन बाँकी रहेको र श्रीराम मन्दिरको भुक्तानी पनि त्यसमध्ये परेको हुन सक्ने बताए ।
‘करिब २५/३० प्रतिशतजति योजनाको रकम भुक्तानी हुन सकेको छैन । त्यसैमध्ये यो मन्दिरको भुक्तानी पनि होला । बाँकी रहेको हो भने १८ नम्बर फारामबाट भुक्तानी भइहाल्छ,’ घिमिरेले भने ।
जनकपुरधामको ऐतिहासिक श्रीराम मन्दिर
श्रीराम मन्दिर जनकपुरधामका पुराना तथा ऐतिहासिक मन्दिरमध्ये एक हो । उपलब्ध ऐतिहासिक विवरणअनुसार सन्त चर्तुभुज गिरीको समयमा सेनापति तथा बडाकाजी अमरसिंह थापाले वि.सं. १८३९ मा यो मन्दिर निर्माण गराएका थिए ।
मन्दिर निर्माण भएको करिब डेढ शताब्दीपछि वि.सं. १९८४ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा मन्दिरको पित्तलको छानामा सुनको जलप लगाइएको थियो ।
भोजराज घिमिरेको प्रतिवेदनअनुसार राम मन्दिर गुठीको नाममा कुनै समय १ हजार ७६ बिघा जग्गा रहेको उल्लेख छ । अहिले करिब ५० बिघा मात्र सुरक्षित रहेको बताइएको छ । प्रतिवेदनमा अधिकांश जग्गा विगतमा गुठीकै कर्मचारीबाट बिक्री वितरण भएको र बाँकी जग्गा अतिक्रमणमा परेको उल्लेख छ ।
राम मन्दिरको नाममा रहेको ठूलो परिमाणको जग्गा तथा सम्पत्ति गुठी संस्थानको मातहतमा रहेपनि मन्दिर भने लामो समयदेखि जीर्ण अवस्थामा रहेको स्थानीयको गुनासो छ ।
गुठी संस्थानले मन्दिरको संरक्षण तथा मर्मतमा पर्याप्त ध्यान नदिएको भन्दै जनकपुरधाम उपमहानगरपालिकाले पछिल्लो समय मन्दिर मर्मत सम्भार तथा सौन्दर्यीकरणका लागि बजेट विनियोजन गरेको थियो । तर काम सम्पन्न भएपछि निर्माण कम्पनीको ठूलो रकम भुक्तानी हुन बाँकी रहेको विषय अहिले अख्तियारसम्म पुगेको हो ।




