वीरगञ्ज । वीरगञ्जस्थित गोल्डेन फिंगर गेमिङ जोन (क्यासिनो) मा प्रहरीले गरेको छड्के कारबाहीका क्रममा पक्राउ परेका सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष जसवन्त यादव र इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेल धरौटीमा रिहा भएका छन् ।
सोमबार साँझ यादवले २५ हजार रुपैयाँ र प्रहरी निरीक्षक पौडेलले १८ हजार रुपैयाँ धरौटी बुझाएपछि रिहा भएका हुन् । क्यासिनो प्रकरणमै पक्राउ परेका अन्य ६ जना पनि धरौटीमा छुटेका छन् । चन्दन सहनी, ओमप्रकाश बैठा र क्यासिनो कर्मचारी जयदेव साहले जनही १५ हजार रुपैयाँ धरौटी बुझाएका छन् ।
यस्तै, क्यासिनो कर्मचारी विजयकुमार पटेल, दिनेशकुमार पटेल र प्रदेशी साहले जनही २० हजार रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।
नेपालीलाई क्यासिनो प्रवेश गराएको सूचनापछि छापा
जिल्ला प्रहरी कार्यालय पर्साले नेपाली नागरिकलाई कानुनविपरीत क्यासिनो प्रवेश गराई जुवा खेलाउने गरेको विशेष सूचना पाएपछि शनिबार राति वीरगञ्जको गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिंगर गेमिङ जोनमा छड्के कारबाही गरेको थियो ।
कारबाहीका क्रममा गाउँपालिका अध्यक्ष यादव र प्रहरी निरीक्षक पौडेलसहित आठ जना पक्राउ परेका थिए । प्रहरीका अनुसार नेपालको विद्यमान कानुनले नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न तथा खेलाउन निषेध गरेको छ ।
सोही कानुनी प्रावधान उल्लंघन भएको सूचनाका आधारमा क्यासिनोमा छड्के कारबाही गरिएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।




