सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका ६ श्रीपुरमा बाक्लो हुस्सुका कारण ईभी कार सडक किनारमा रोकिराखिएको भारतीय नम्बर प्लेटको ट्यांकरमा ठोक्किँदा चार जना घाइते भएका छन् ।
दुर्घटना पूर्व-पश्चिम राजमार्गमा बुधबार बिहान करिब पौने ६ बजे भएको हो । प्रहरीका अनुसार काठमाडौं–झापा जाँदै गरेको बा प्र ०१–०३५ च ३३१७ नम्बरको ईभी कार बिग्रिएर सडक किनारमा रोकिराखिएको डब्लुबी ११ एफ १७९५ नम्बरको भारतीय ट्यांकरमा ठोक्किएको हो ।
दुर्घटनामा ईभी चालक धादिङको पितले ३ का २१ वर्षीय मनोज श्रेष्ठसहित चार जना घाइते भएका छन् । घाइते हुनेमा सुनसरीको इनरुवा ३ का ३० वर्षीय ओशिम खान, बराहक्षेत्र ९ का २५ वर्षीय मोहन कविरथ र झापाको भद्रपुर ७ का २८ वर्षीय पवन राई रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी हिमराज घिमिरेका अनुसार बाक्लो हुस्सुका कारण अगाडिको दृश्य स्पष्ट नदेखिँदा ईभी कार ट्यांकरमा ठोक्किएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । कार तीव्र गतिमा रहेको हुनसक्ने पनि प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताए । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




