रौतहट । रौतहटको गरुडा नगरपालिका ७ भिमडावरमा लगातार तीनवटा घरमा चोरी भएको घटनाको अनुसन्धानका क्रममा प्रहरीले लोडेड कटुवा पेस्तोल बरामद गरेको छ । शुक्रबार बिहान स्थानीय दयाराम साहको घरको पछाडिको ढोकाको आग्लो भाँचिएको अवस्थामा चोरी भएको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।
प्रारम्भिक अनुसन्धानका क्रममा चोरले घरभित्र प्रवेश गरी रेडमी, ओपो र रियलमी ब्रान्डका तीन थान मोबाइल चोरी गरेको खुलेको प्रहरीले जनाएको छ । त्यसैगरी मनोज साहको घरमा छतको ढोकाबाट प्रवेश गरी कोठाको आग्लो खोलेर दराजमा राखिएको पर्सबाट करिब ५ हजार रुपैयाँ चोरी भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डीएसपी शंकरप्रसाद आचार्यले जानकारी दिए ।
रामाज्ञा साहको घरमा पनि माथिल्लो ढोकाबाट प्रवेश गरी टिनको बाकसभित्र राखिएको पर्सबाट ८ हजार रुपैयाँ नगद र एक थान भिभो मोबाइल चोरी भएको प्रहरीले जनाएको छ । तीनवटै घरमा चोरी भएको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय गरुडाबाट इन्स्पेक्टर उज्ज्वल क्षेत्रीको कमान्डमा प्रहरी टोली परिचालन गरिएको थियो ।
अनुसन्धानका क्रममा दयाराम साहको खपडाको छानो भएको भुईँघरको बरण्डामा राखिएको खाटबाट एक थान लाइभ राउन्डसहित लोडेड कटुवा पेस्तोल फेला परेको प्रहरीले जनाएको छ । रौतहट प्रहरी प्रमुख एसपी सीताराम रिजालले बेवारिसे अवस्थामा रहेको जस्तो देखिने पेस्तोल बरामद भएको पुष्टि गरेका छन् ।
बरामद हतियारसहित चोरीका घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । घटनामा हालसम्म कसैलाई पक्राउ नगरिएको एसपी रिजालले बताए । उनका अनुसार बरामद हतियार तथा तीनवटै घरमा भएको चोरीका घटनाबारे थप अनुसन्धान भइरहेको छ ।




