वीरगंज । बिहानदेखि नै सडकमा मालवाहक ट्रक, ट्याङ्कर र कन्टेनरको बाक्लो चाप छ । व्यापारिक तथा औद्योगिक गतिविधिका कारण यो सडकखण्डमा सवारीसाधनको आवागमन कहिल्यै रोकिँदैन । तर, सडकको अवस्था भने दिनप्रतिदिन बिग्रँदै गएको छ ।
वीरगंज–पोखरिया सडकखण्डअन्तर्गत विभिन्न स्थानमा सडक भत्किएर गहिरा खाल्डाखुल्डी बनेका छन् । राजमार्गबाट एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी), सुक्खा बन्दरगाह तथा परवानीपुरतर्फ जाने सडकका विभिन्न भागमा खाल्डाखुल्डी बढेपछि नियमित आवागमन नै चुनौतीपूर्ण बनेको छ ।
सडकको दुरवस्थाले सबैभन्दा बढी समस्या चालकलाई परेको छ । भारी मालवाहक सवारी साधन चलाउने चालकहरू खाल्डो छल्दै र गति नियन्त्रण गर्दै अघि बढ्नुपर्ने बाध्यतामा छन् । सामान्य अवस्थामा सहज रूपमा पार गर्न सकिने दूरी समेत सडकको अवस्थाका कारण जोखिमपूर्ण बन्ने गरेको उनीहरू बताउँछन् ।
‘खाल्डो छल्दा अर्को सवारीसँग ठोक्किने डर हुन्छ’
चालक उमेश साहका लागि यो सडक नयाँ होइन । दैनिकजसो यही सडकमा सवारी चलाउने उनी सडकको अवस्था लामो समयदेखि उस्तै रहेको बताउँछन् । “दैनिक ठूलो सङ्ख्यामा गाडी यही बाटो भएर आवतजावत गर्छन् । सडक बिग्रिएको लामो समय भइसक्यो, तर मर्मतका लागि सम्बन्धित निकायले चासो देखाएको छैन,” साहले भने ।
उनका अनुसार अत्यधिक मालवाहक सवारीसाधन गुड्ने सडकमा गहिरा खाल्डाखुल्डी हुँदा सवारीको गति नियन्त्रण गर्नसमेत कठिन हुने गरेको छ । खाल्डो छल्न खोज्दा सवारी अर्को लेनतर्फ पुग्ने र विपरीत दिशाबाट आएको सवारीसँग जोखिम बढ्ने अवस्था रहेको उनको भनाइ छ ।
रात परेपछि झन् जोखिम
दिनको उज्यालोमा खाल्डाखुल्डी देखेर सवारी चलाउन केही सहज भए पनि रातको समयमा जोखिम अझ बढ्ने स्थानीयको भनाइ छ । सडकमा पर्याप्त प्रकाश नहुँदा कतिपय खाल्डा अन्तिम समयमा मात्र देखिने गर्छन् ।
अचानक खाल्डोमा सवारीको चक्का पर्दा सवारी अनियन्त्रित हुने, टायर तथा अन्य पार्टपुर्जामा क्षति पुग्ने र दुर्घटना हुन सक्ने जोखिम रहेको स्थानीय बताउँछन् ।
वीरगंजको व्यापारिक तथा औद्योगिक गतिविधिसँग प्रत्यक्ष जोडिएको सडक भएकाले यहाँ साना सवारीदेखि ठूला कन्टेनर र ट्याङ्करसम्मको नियमित आवतजावत हुन्छ । यस्तो अवस्थामा सडकको सामान्य क्षति समेत सवारी सुरक्षाका लागि ठूलो चुनौती बन्ने गरेको छ ।
कर उठ्छ, सडकको अवस्था उस्तै
स्थानीय यात्रु शनि पटेल सडक प्रयोग गरेबापत कर तथा विभिन्न शुल्क असुल हुने गरे पनि त्यसअनुसार सडकको मर्मतसम्भारमा ध्यान नदिइएको गुनासो गर्छन् । “सडक प्रयोग गरेबापत कर र शुल्क तिर्नुपर्छ। तर सडकको अवस्था हेर्दा त्यसको मर्मतसम्भारमा पर्याप्त ध्यान दिइएको देखिँदैन,” पटेलले भने ।
सडक आसपास ट्राफिक प्रहरी तथा नेपाल प्रहरीको उपस्थिति रहे पनि सडकको भौतिक अवस्थातर्फ सम्बन्धित निकायको पर्याप्त ध्यान पुग्न नसकेको उनको भनाइ छ ।
सडक बिग्रँदा यात्रुको समय र सवारीको खर्च दुवै बढ्दै
खाल्डाखुल्डीका कारण सवारीसाधनको गति घट्दा यात्राको समय बढ्ने गरेको छ । भारी सवारीसाधनले खाल्डा पार गर्दा सवारीका विभिन्न पार्टपुर्जामा क्षति पुग्ने तथा मर्मत खर्च बढ्ने चालकहरूको गुनासो छ ।
अर्कोतर्फ, सडकको अवस्था सुधार नहुँदा दुर्घटनाको जोखिम पनि निरन्तर बढिरहेको स्थानीय बताउँछन् । विशेष गरी अत्यधिक सवारी चाप हुने स्थानमा सडकको क्षतिले सामान्य आवागमनलाई समेत जोखिमपूर्ण बनाएको उनीहरूको भनाइ छ ।
तत्काल मर्मतको माग
स्थानीय तथा चालकहरूले सडकको जीर्ण अवस्था तत्काल सुधार गर्न माग गरेका छन् । उनीहरूले सडकमा रहेका गहिरा खाल्डाखुल्डी पुर्नुका साथै नियमित रूपमा सडकको निरीक्षण र मर्मतसम्भार गर्ने व्यवस्था मिलाउन सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
वीरगंजको व्यापारिक तथा औद्योगिक गतिविधिका लागि महत्वपूर्ण मानिने यस सडकखण्डमा सवारीको चाप आगामी दिनमा अझ बढ्ने सम्भावना छ । त्यसैले सडकको अवस्था समयमै सुधार नगरे सवारीसाधनमा हुने क्षतिसँगै दुर्घटनाको जोखिम समेत थप बढ्न सक्ने स्थानीय तथा चालकहरूको भनाइ छ ।
व्यस्त सडकमा गुड्ने हजारौँ सवारीसाधनका लागि अहिले सबैभन्दा ठूलो प्रश्न यही छ- सडकमा बनेका यी खाल्डाखुल्डी कहिले पुरिनेछन् ?




