सिरहा । सिरहाको नरहा गाउँपालिका ३ स्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एक साइकलयात्री घाइते भएका छन् ।
शनिबार बिहान करिब ७:३५ बजे रोजी मेडिकलनजिकै गोलबजारबाट मिर्चैयातर्फ जाँदै गरेको ना ४ ख ८५०४ नम्बरको ट्रकले पैदल हिँडिरहेका र साइकलमा सवार व्यक्तिलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
ट्रकको ठक्करबाट नरहा गाउँपालिका ३ कै अन्दाजी ५१ वर्षीय रामपृत मण्डल गम्भीर घाइते भएका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा सोही स्थानका अन्दाजी ४५ वर्षीय राजातुल अंसारी घाइते भएका छन् । उनको दुवै खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । अंसारीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ ।
दुर्घटनापछि प्रहरीले ट्रक र त्यसका चालक धनुषाको मिथिला नगरपालिका ९ का अन्दाजी २५ वर्षीय कमलेश महतोलाई नियन्त्रणमा लिएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।




