जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका ८ रामानन्द चोकस्थित एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार आगलागीमा परी महोत्तरीको लोहारपट्टी नगरपालिका २ निवासी ७० वर्षीय किशोरी सहनीको मृत्यु भएको हो ।
आगलागीबाट घरायसी सामानसहित करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी गएराति भएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा विद्युत् सर्ट भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । स्थानीय तहका वारुणयन्त्र, प्रहरी र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।




