सर्लाही । लालबन्दी नगरपालिका १२ जियाजोरस्थित पोखरीमा डुबेर बेपत्ता भएका १५ वर्षीय बालक राजु ठाकुर करिब २० घण्टापछि मृत फेला परेका छन् । लालबन्दी नगरपालिका ११ हीरापुर निवासी देवेन्द्र ठाकुरका छोरा राजु मंगलबार अपराह्न करिब ४:१५ बजे पोखरीमा डुबेर बेपत्ता भएका थिए ।
लखन्देही खोलापारि रहेको उक्त पोखरीमा बेपत्ता भएका राजुको शव बुधबार मध्यान्ह साढे १२ बजेतिर फेला परेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक श्याम थापा मगरले जानकारी दिए । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गोताखोर टोलीले डुंगा (बोट) र बाँसको सहायतामा पानीमुनिबाट बालकको शव निकालेको हो ।

खोजीका लागि सशस्त्र प्रहरी बल, नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालयबाट प्रहरी नायब निरीक्षक भक्तबहादुर खत्रीको नेतृत्वमा सात सदस्यीय गोताखोर टोली बिहानै जियाजोर पुगेको थियो ।
सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक अमरबहादुर खत्रीका अनुसार गोताखोर टोलीले खोजी सुरु गरेको करिब एक घण्टामै बालकको शव फेला पारेको हो । यसअघि मंगलबार राति पनि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले करिब तीन घण्टासम्म पोखरीमा खोजी गरेका थिए ।
मृतक बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पठाइएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार गर्मी छल्न राजुसँगै पोखरीमा पौडी खेल्न गएका अन्य तीन चार जना बालक भने सकुशल बाहिर निस्किएका थिए ।




