सिरहा । सिरहाका विभिन्न सीमावर्ती क्षेत्रबाट अवैध रूपमा ओसारपसार भइरहेको १३ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान सशस्त्र प्रहरीले बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका गणपति सशस्त्र प्रहरी उपरीक्षक (एसपी) सुमनजंग थापाका अनुसार जिल्लाका विभिन्न सीमा क्षेत्रबाट १३ लाख ३५ हजार २५१ रुपैयाँ बराबरका भन्सार छलीका सामान नियन्त्रणमा लिइएको हो ।
नेपालबाट भारततर्फ लैजाँदै गरेको तथा भारतबाट नेपालतर्फ अवैध रूपमा भित्र्याउँदै गरेको अवस्थामा ती सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएका सामानमा लत्ताकपडा, किराना सामाग्री, सुर्तीजन्य पदार्थ, कस्मेटिक सामान, जुत्ता, खेलौना, हार्डवेयर सामाग्री, पेय पदार्थ, मदिरा, इन्धन तथा ओसारपसारमा प्रयोग गरिएका मोटरसाइकल समेत रहेका छन् ।
नियन्त्रणमा लिइएका सम्पूर्ण सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी दाखिलाका लागि सिरहा भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरीले जनाएको छ ।




