वीरगञ्ज । पर्साको धोबिनी गाउँपालिका ५ स्थित धोबिनी टोलमा घरभित्र प्रवेश गरी लुटपाट गर्ने क्रममा एक महिलाको हत्या भएपछि स्थानीयवासीमा त्रास फैलिएको छ ।
आइतबार राति अज्ञात समूहले घरको पछाडिको झ्याल फुटाएर प्रवेश गरी लुटपाट गरेको र ५० वर्षीया लखोवतीदेवी तुरहाको हत्या गरेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा लुटपाटकै क्रममा उनको टाउकोमा फलामको रड प्रहार गरिएको खुलेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार राति करिब २ देखि ३ बजेको बीचमा घटना भएको हो । दुईतले पक्की घरको पछाडिपट्टिको झ्याल फुटाएर भित्र प्रवेश गरेका व्यक्तिले लुटपाट गरेका थिए । गम्भीर चोट लागेकी लखोवतीदेवीको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
घटना भएको रात घरमा लखोवतीदेवी र उनका पति मात्रै थिए । उनका पति भुइँतलामा र उनी पहिलो तलामा सुतेका थिए । यही मौका छोपेर पछाडिको झ्यालबाट समूह घरभित्र प्रवेश गरेको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
बिहान स्थानीयवासीले घटनाबारे थाहा पाउँदा सुरुमा लखोवतीदेवीको मृत्यु हृदयघातबाट भएको हुनसक्ने अनुमान गरेका थिए । तर घरभित्र सामानहरू छरपस्ट अवस्थामा रहेको र उनको टाउकोमा चोट देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरीको तालिमप्राप्त कुकुरसहितको टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थलबाट सम्भावित सुराक संकलन गर्दै विभिन्न कोणबाट अनुसन्धान गरेपनि तत्काल अपराधमा संलग्न व्यक्तिबारे ठोस जानकारी प्राप्त हुन नसकेको जनाएको छ ।
पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले मृतकको शव परीक्षणका लागि वीरगञ्ज ल्याइएको जानकारी दिए । उनका अनुसार घटनामा संलग्न व्यक्तिको खोजी भइरहेको छ ।
स्थानीयका अनुसार मृतकका दुई छोरा माछा व्यवसायमा संलग्न छन् र दुवै हाल काठमाडौंमा बस्दै आएका छन् । रातको समयमा घरमै प्रवेश गरी लुटपाटपछि महिलाको हत्या भएको घटनाले धोबिनी टोलमा सुरक्षा चिन्ता बढाएको छ ।
प्रहरीले घटनालाई प्रारम्भिक रूपमा लुटपाटसँग जोडेर अनुसन्धान गरिरहेको जनाएको छ । हत्या र लुटपाटको वास्तविक कारण तथा घटनामा संलग्न व्यक्तिको पहिचान अनुसन्धानबाट थप खुल्ने प्रहरीले जनाएको छ ।




