धनुषा । मधेश प्रदेश प्रहरी कार्यालयले जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत प्रहरी वरिष्ठ सई सन्तोषकुमार गोललाई २०८३ भदौ महिनाको ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषणा गरेको छ ।
मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीले ‘महिनाको उत्कृष्ट प्रहरी छनोट कार्यविधि २०८३’ अनुसार गोललाई सर्वोत्कृष्ट प्रहरी छनोट गरेका हुन् ।
प्रहरी सेवामा जिम्मेवारी निर्वाहका क्रममा देखाएको सक्रियता, कार्यसम्पादन तथा प्रहरी संगठनको छवि उकास्न पुर्याएको योगदानका आधारमा उनलाई सर्वोत्कृष्ट प्रहरी छनोट गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
बुधबार आयोजित एक समारोहबीच डीआईजी अधिकारीले गोललाई प्रशंसापत्र तथा पुरस्कार प्रदान गरेका छन् । सो अवसरमा अधिकारीले आगामी दिनमा पनि जिम्मेवारीप्रति थप प्रतिबद्ध भएर काम गर्न उनलाई शुभकामना दिएका छन् ।
प्रहरी कर्मचारीको कार्यसम्पादनका आधारमा उत्कृष्टलाई सम्मान गर्ने अभ्यासले अन्य प्रहरी कर्मचारीलाई पनि आफ्नो जिम्मेवारीप्रति थप उत्प्रेरित गर्ने अपेक्षा गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
साथै, पुरस्कारलाई नियमित कार्यसम्पादन, अनुशासन र जनमुखी प्रहरी सेवासँग जोड्न सके यसले संगठनभित्र सकारात्मक प्रतिस्पर्धाको वातावरण निर्माण गर्न सहयोग पुग्ने बताइएको छ ।




