बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका ८ गोबरगावाबाट प्रहरीले १ किलो ७३० ग्राम गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय ३६ वर्षीय जयनारायण चौधरी रहेका छन् ।
विशेष सूचनाका आधारमा बिहीबार दिउँसो करिब ४:४० बजे इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई आफ्नै घरको आँगनबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार चौधरीको घरआँगनमा खानतलासी गर्ने क्रममा १५ वटा पुरीयामा राखिएको ३२० ग्राम र कालो प्लास्टिकमा प्याक गरिएको १ किलो ४१० ग्राम गाँजाजस्तो देखिने पदार्थ बरामद भएको थियो । प्लास्टिकसहित उक्त पदार्थको कुल तौल १ किलो ७३० ग्राम रहेको प्रहरीले जनाएको छ ।
वरिष्ठ प्रहरी सहायक निरीक्षक (सई) उमेश निरौलाको कमान्डमा खटिएको चार सदस्यीय प्रहरी टोलीले चौधरीलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय जीतपुरमा ल्याएको हो । चौधरीविरुद्ध लागूऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




