रौतहट । लगातारको भारी वर्षासँगै बाढी तथा डुबानको जोखिम बढेपछि मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षा संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखिएको छ । सम्भावित विपद्का बेला तत्काल उद्धार तथा राहतमा परिचालन गर्न सकिने गरी नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनालाई तयारी अवस्थामा राखिएको प्रदेश प्रहरीले जनाएको छ ।
मधेश प्रदेश प्रहरी प्रमुख डीआईजी ओमप्रसाद अधिकारीका अनुसार प्रदेशका सबै जिल्ला प्रहरी कार्यालयलाई जोखिमयुक्त क्षेत्र पहिचान गरी स्थानीय प्रशासनसँग समन्वय गरेर आवश्यक सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिइएको छ ।
सम्भावित बाढी, डुबान तथा अन्य विपद्मा तत्काल उद्धार गर्न सक्ने गरी प्रदेश विपद् व्यवस्थापन गुल्म वीरगञ्ज र जनकपुरधामलाई समेत तयारी अवस्थामा राखिएको प्रहरीले जनाएको छ ।
प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बैठकले पनि सम्भावित विपद्का क्रममा सुरक्षा निकायबीच प्रभावकारी समन्वय कायम गर्दै क्षति न्यूनीकरण तथा तत्काल उद्धारलाई प्राथमिकता दिने निर्णय गरेको छ ।
प्रदेशका विभिन्न जिल्लामा नदी तथा खोलानालाका आसपासका क्षेत्रलाई बाढीको जोखिमका हिसाबले संवेदनशील मानिएको छ । रौतहटमा बागमती र लालबकैया, धनुषामा कमला, जलाद र औरही, सिरहामा कमला र बलान तथा सप्तरीमा सप्तकोसी, खाँडो र महुली नदी आसपासका क्षेत्रलाई जोखिमयुक्त मानिएको छ ।
त्यस्तै, सर्लाहीमा बागमती र लखनदेई तथा महोत्तरीमा रातु, मडाहा र बिग्ही नदी आसपासका क्षेत्रमा पनि निगरानी बढाइएको छ । बारा र पर्सामा चुरे क्षेत्रबाट आउने आकस्मिक बाढी तथा नदी कटानको जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निगरानी थप कडा पारिएको प्रहरीले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित गहिरो न्यूनचापीय प्रणालीको प्रभावका कारण कोशी, मधेश र बागमती प्रदेशका अधिकांश क्षेत्रमा मेघगर्जनसहित भारी वर्षाको सम्भावना रहेको छ ।
मौसमको सम्भावित अवस्थालाई ध्यानमा राख्दै प्रहरीले विपद् आएपछि मात्र उद्धारमा परिचालन हुनेभन्दा जोखिम देखिनुअघि नै सुरक्षा संयन्त्रलाई तयारी अवस्थामा राख्ने रणनीति अपनाएको जनाएको छ । स्थानीय प्रशासन र सुरक्षा निकायबीच निरन्तर समन्वय गर्दै जोखिमयुक्त क्षेत्रमा आवश्यक निगरानी र तयारी बढाइएको प्रहरीको भनाइ छ ।




