बारा । वीरगन्ज–पथलैया सडकखण्डअन्तर्गत बाराको जीतपुरसिमरा उपमहानगरपालिका ५ बकुलियाबाट ८० ग्राम ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालय, बर्दिवासका अनुसार विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल, नेपाल इन्टेलिजेन्स ब्युरोको टोलीले बिहीबार साँझ वीरगन्जबाट पथलैयातर्फ जाँदै गरेको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पर्साको सखुवाप्रसौनी गाउँपालिका ४ सोलखपुरका २८ वर्षीय हुस्नेन अन्सारी र वीरगन्ज महानगरपालिका १४ चिनीमिल पिपराका १८ वर्षीय राजनकुमार पासवान रहेका छन् । उनीहरू सवार मोटरसाइकल जाँच गर्ने क्रममा करिब ८० ग्राम ब्राउन सुगर फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरीले उनीहरूको साथबाट तीन थान मोबाइल, प्र २–०३००९ प ३७५६ नम्बरको कालो सेतो रंगको हिरो सुपर स्प्लेन्डर मोटरसाइकल, नगद १ हजार १ सय १० रुपैयाँ र एटीएम कार्ड समेत बरामद गरेको जनाएको छ ।
जितपुरस्थित सशस्त्र प्रहरी बेसबाट खटिएको टोलीले पक्राउ परेका दुवै जनालाई बरामद सामानसहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय सिमराको जिम्मा लगाएको सशस्त्र प्रहरी मधेश प्रदेश कार्यालयले जनाएको छ ।




