रौतहट । रौतहटमा १९ वर्षअघि भएको दोहोरो हत्याकाण्डमा प्रहरीले मुख्य अभियुक्तको पहिचान गरेको जनाएको छ । लामो समयदेखि अनुसन्धानमा रहेको घटनामा तत्कालीन भूमिगत संगठनमा सक्रिय रहेका ‘वारुद सिंह’ भनिने सुरेन्द्रप्रसाद यादवको मुख्य संलग्नता रहेको खुलेको प्रहरीले जनाएको हो ।
यादव हाल अर्को मुद्दामा जिल्ला कारागार रौतहटमा सजाय भुक्तान गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमका अनुसार यादवलाई यसअघि नै अपहरण तथा शरीर बन्धक र संगठित अपराधसम्बन्धी मुद्दामा अदालतले सजाय सुनाएको थियो ।
प्रहरीका अनुसार २०६४ वैशाख ३१ गते राति करिब १ बजे तत्कालीन धर्मपुर गाविस १, हाल गढीमाई नगरपालिका ६ मा अज्ञात समूहले गोली प्रहार गर्दा दुई जनाको मृत्यु भएको थियो ।
गोली प्रहारबाट तत्कालीन पिपरिया (दो.) गाविस ३, हाल गरुडा नगरपालिका ७ का ३२ वर्षीय नागेन्द्र बैठा र तत्कालीन गेड्हीगुड्डठ्ठी गाविस ९, हाल गरुडा नगरपालिका २ का २८ वर्षीय प्रमानन्द सहनीको मृत्यु भएको थियो ।
घटनापछि लामो समयसम्म हत्यामा संलग्न व्यक्तिको पहिचान हुन सकेको थिएन । निरन्तर अनुसन्धानका क्रममा पछिल्लो समय सुरेन्द्रप्रसाद यादवसम्म प्रहरी पुगेको डीएसपी गौतमले बताए ।
प्रहरीका अनुसार घटनाको समयमा यादव तराई जनतान्त्रिक मुक्ति मोर्चालगायत भूमिगत संगठनमा आबद्ध भएर सक्रिय थिए । घटनामा उनको भूमिका रहेको देखिएपछि प्रहरीले त्यससम्बन्धी थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
हत्याको कारण र अन्य संलग्नताबारे अनुसन्धान
प्रहरीले यादवको घटनामा रहेको भूमिका, हत्याको कारण तथा घटनामा अन्य व्यक्तिको संलग्नताबारे अनुसन्धान गरिरहेको छ । डीएसपी गौतमका अनुसार अनुसन्धानका क्रममा घटनासँग सम्बन्धित थप तथ्यहरू खुल्दै जानेछन् ।
लामो समयदेखि अनसुल्झिएको घटनामा मुख्य अभियुक्त पहिचान भएपछि प्रहरीले अब हत्याको कारण र घटनामा संलग्न अन्य व्यक्तिको भूमिकाबारे अनुसन्धान केन्द्रित गरेको छ ।




