बारा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी एक महिनाअघि बेपत्ता भएका नेपाली सेनाका जवान सुरजकुमार साहको शनिबार परम्पराअनुसार अन्तिम संस्कार गरिएको छ ।
बाराको सुवर्ण गाउँपालिका १ स्थित तीयर नदी किनारमा परिवारजनले कुशको प्रतीकात्मक शव बनाएर साहको दाहसंस्कार गरेका हुन् । अन्तिम संस्कारअघि नेपाली सेनाले उनलाई सैनिक सम्मानसहित सलामी अर्पण गरेको थियो ।
सुवर्ण गाउँपालिका १ सोलकपुर कुम्हटोलीका साह नेपाली सेनाको श्रीनाथ गणमा कार्यरत थिए । भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा बाढी आएका बेला उनी ड्युटीमा खटिएका थिए । त्यस क्रममा बेपत्ता भएका साहको त्यसयता अवस्था अज्ञात थियो ।
बाढीपछि परिवार, आफन्त र सुरक्षा निकायले उनको खोजीलाई निरन्तरता दिए पनि लामो समयसम्म कुनै जानकारी प्राप्त हुन सकेन । शव फेला नपरेपछि परिवारले धार्मिक तथा सामाजिक परम्पराअनुसार कुशको प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गर्ने निर्णय गरेको हो ।
अन्तिम संस्कार कार्यक्रममा सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव, नेपाली कांग्रेसका नेता सतेन्द्र यादव, जेन्जी अभियन्ता अजय यादव, नेपाली सेनाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको सहभागिता थियो ।
साहको वास्तविक शव फेला नपरे पनि एक महिनासम्म छोराको अवस्थाबारे प्रतीक्षामा रहेको परिवारले धार्मिक विधिअनुसार अन्तिम संस्कार गरेको हो । लामो समयसम्म खोजी र प्रतीक्षापछि गरिएको अन्तिम संस्कार परिवारका लागि भावुक र पीडादायी क्षण बनेको थियो ।




