रौतहट । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा केही समयअघि देखिएको जस्तै घटना रौतहटमा पनि दोहोरिएको छ । स्वास्थ्यकर्मीको अभावमा गरुडा नगरपालिका ६ पोठियाहीस्थित बर्थिङ सेन्टरमा सुत्केरी गराउन पुगेकी एक महिलाले सेन्टरको गेटबाहिरै बच्चा जन्माउनुपरेको छ ।
आइतबार बिहान करिब साढे १० बजे स्थानीय आमिचन माझी मुसहरकी छोरीलाई सुत्केरी गराउन बर्थिङ सेन्टर पुर्याइएको थियो । तर त्यहाँ सुत्केरी गराउने स्वास्थ्यकर्मी उपलब्ध नभएको जानकारी पाएपछि महिलाकी सासु अटो रिक्सा खोज्न बाहिर निस्किएकी थिइन् ।
त्यसैबीच सुत्केरी व्यथा बढेपछि ती महिलाले बर्थिङ सेन्टरको गेटबाहिरै बच्चा जन्माएकी हुन् । वडा नम्बर ६ का अध्यक्ष रामबाबु चौधरीका अनुसार बच्चा जन्मिएपछि सेन्टरका कर्मचारी रौशन जैसवाललाई घरबाट बोलाएर आमा र नवजात शिशुलाई सेन्टरभित्र लगिएको थियो ।
वडा अध्यक्ष चौधरीका अनुसार उक्त बर्थिङ सेन्टरमा दरबन्दी रहेका तारा रामसहित दुई जना महिला स्वास्थ्यकर्मीलाई करिब ६ महिनाअघि अन्यत्र सरुवा गरिएको थियो । उनीहरूको सरुवापछि दक्ष जनशक्तिको अभावमा बर्थिङ सेन्टरको नियमित सेवा प्रभावित हुँदै आएको उनको भनाइ छ ।
‘दक्ष स्वास्थ्यकर्मी हुँदा यही सेन्टरमा दैनिक तीन–चार जना महिलाले सुरक्षित रूपमा सुत्केरी सेवा लिने गरेका थिए । तर स्वास्थ्यकर्मी सरुवा भएपछि समस्या बढेको हो,’ चौधरीले बताए । स्वास्थ्यकर्मीको सरुवा फिर्ता गरी बर्थिङ सेन्टरमै जनशक्ति व्यवस्थापन गर्न नगर प्रमुख कन्थमणि जैसवालसँग पटक–पटक आग्रह गरेपनि सुनुवाइ नभएको वडा अध्यक्ष चौधरीको दाबी छ ।
घटनापछि नगरपालिकाको स्वास्थ्य सेवा व्यवस्थापनबारे पनि प्रश्न उठेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका स्थानीय नेता रविन्द्र यादवले विशेषगरी विपन्न तथा दलित समुदायका महिला सेवा लिन आउने स्वास्थ्य संस्थामै आवश्यक जनशक्ति नहुनु गम्भीर विषय भएको बताएका छन् । यादवले घटनाबारे नगरपालिका पुगेर सोमबार नगर प्रमुख जैसवालसँग छलफल गर्ने बताएका छन् ।
सेवा संरचना छ, जनशक्ति छैन
बर्थिङ सेन्टर स्थापना गर्नुको मुख्य उद्देश्य गर्भवती महिलालाई घरमै सुत्केरी हुनुपर्ने जोखिमबाट जोगाउँदै नजिकै सुरक्षित मातृत्व सेवा उपलब्ध गराउनु हो । तर सेवा दिने स्वास्थ्यकर्मी नै उपलब्ध नहुने अवस्था आएमा भौतिक संरचना मात्र पर्याप्त हुँदैन ।
पोठियाहीको घटनाले स्थानीय तहअन्तर्गत सञ्चालित स्वास्थ्य संस्थामा दरबन्दी, जनशक्ति व्यवस्थापन र स्वास्थ्य सेवाको नियमित उपस्थितिबीच समन्वय आवश्यक रहेको देखाएको छ ।
विशेष गरी प्रसूति सेवा आकस्मिक प्रकृतिको हुने भएकाले तोकिएको समयमा स्वास्थ्यकर्मी उपलब्ध नहुँदा सामान्य अवस्थाकी गर्भवतीसमेत जोखिममा पर्न सक्छिन् । स्थानीयका अनुसार करिब ६ महिनाअघिसम्म नियमित रूपमा सुत्केरी सेवा दिइँदै आएको उक्त केन्द्रमा स्वास्थ्यकर्मी सरुवापछि सेवा प्रभावित भएको हो ।
अब नगरपालिकाले घटनाको वास्तविक अवस्था छानबिन गरी आवश्यक जनशक्ति तत्काल व्यवस्थापन गर्ने वा समस्या यथावत् राख्ने भन्ने विषय स्थानीयका लागि चासोको बनेको छ । स्थानीयले बर्थिङ सेन्टरमा नियमित स्वास्थ्यकर्मीको उपस्थिति, आवश्यक दक्ष जनशक्ति तथा सुरक्षित मातृत्व सेवा सुनिश्चित गर्न नगरपालिकासँग माग गरेका छन् ।




