जनकपुरधाम । प्रहरी सेवामा अनुशासन, कर्तव्य निष्ठा र जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई मूल्यांकन गर्दै प्रहरी जवान लक्ष्मी कुमारी कार्कीलाई भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरिएको छ ।
नेपाल प्रहरी विशेष सुरक्षा गण ढल्केवरका गण प्रमुख एसपी भुवनेश्वरप्रसाद साहले कार्कीलाई भदौ महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गर्दै प्रशंसापत्र प्रदान गरेका हुन् ।
प्रहरी संगठनभित्र उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारीलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रदान गरिएको उक्त सम्मानले कर्तव्यप्रति समर्पित प्रहरी कर्मचारीको मनोबल बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
साथै, यसले अन्य प्रहरी कर्मचारीलाई पनि आफ्नो जिम्मेवारीप्रति थप सक्रिय, अनुशासित र उत्तरदायी भएर काम गर्न प्रेरित गर्ने विश्वास गरिएको छ । प्रशंसापत्र प्रदान गर्दै एसपी साहले प्रहरी कर्मचारीलाई आफ्नो कर्तव्य, अनुशासन, आज्ञापालन र जिम्मेवारीप्रति सदैव सचेत रहन निर्देशन दिए ।
उनले प्रहरी सेवाको प्रभावकारिता कर्मचारीको व्यावसायिक आचरण, अनुशासन र जनताप्रतिको जिम्मेवारीबोधसँग जोडिने भएकाले उच्च मनोबलका साथ कार्यसम्पादन गर्न आग्रह गरे ।
कार्यक्रममा एसपी साहले संगठनको मर्यादा कायम राख्दै सेवाग्राहीप्रति जिम्मेवार, संवेदनशील र जवाफदेही भएर काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन समेत दिए ।
उत्कृष्ट प्रहरी छनोट गरी सम्मान गर्ने अभ्यासले प्रहरी संगठनभित्र राम्रो कार्यसम्पादनका लागि सकारात्मक प्रतिस्पर्धाको वातावरण निर्माण गर्नुका साथै जिम्मेवारी निर्वाहमा थप ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास प्रहरी संगठनले लिएको छ ।




