सर्लाही । सर्लाहीमा अश्लील तस्बिर तथा भिडियोको माध्यमबाट एक महिलालाई ब्ल्याकमेलिङ गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बसबरिया गाउँपालिका ३ का शिवचरण मुखिया रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार मुखियाले चिनजान तथा नातासम्बन्धको आधारमा ती महिलासँग निकटता बढाई ह्वाट्सएपमा पटक–पटक भिडियो कल गर्ने गरेका थिए । सोही क्रममा भएका अश्लील संवाद तथा गतिविधि रेकर्ड गरी उनले महिलालाई धम्क्याएको आरोप छ ।
प्रहरीमा परेको जाहेरीअनुसार मुखियाले रेकर्ड गरिएका अश्लील तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्नुका साथै आफन्तलाई समेत पठाइदिने धम्की दिएका थिए । त्यसबापत उनले ५० हजार रुपैयाँ माग गरेको आरोप छ ।
घटनासम्बन्धी जाहेरीपछि प्रहरीले मुखियालाई पक्राउ गरी अनुसन्धान अघि बढाएको हो । उनलाई सर्लाही जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा सात दिन हिरासतमा राख्न अनुमति लिइएको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीले सामाजिक सञ्जालमार्फत हुने यस्ता ब्ल्याकमेलिङका घटनामा पीडितले च्याट, फोन नम्बर, कल विवरण, फोटो, भिडियोलगायत डिजिटल प्रमाण सुरक्षित राख्न र तत्काल प्रहरीमा जानकारी गराउन आग्रह गरेको छ ।




