सिमरा । बाराको सिमरा चोकबाट प्रहरीले करिब तीन किलो अवैध लागूऔषध अफिमसहित एक दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका ३ का ४३ वर्षीय आईते सिंह जिम्बा र उनकी ४८ वर्षीया पत्नी रोशनी राई छन् ।
उनीहरूको साथबाट २ किलो ९७० ग्राम अफिम बरामद भएको प्रहरीले जनाएको छ । लागूऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिमरा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जबाट संयुक्त रूपमा प्रहरी टोली परिचालन गरिएको थियो ।
प्रहरीका अनुसार मंगलबार सिमरा चोकमा पैदल हिँडिरहेका जिम्बा र राईलाई निगरानीमा राखी उनीहरूले बोकेको झोला जाँच गरिएको थियो । झोलाभित्र अफिम फेला परेपछि दुवैलाई नियन्त्रणमा लिइएको हो ।
टोलीमा लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जका प्रहरी वरिष्ठ नायब निरीक्षक शेखर सिवाकोटी र इलाका प्रहरी कार्यालय सिमराका प्रहरी हवल्दार उमेश यादवको नेतृत्वमा प्रहरी खटिएको थियो ।
लागूऔषध नियन्त्रण ब्यूरोका प्रवक्ता तथा प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीका अनुसार बरामद अफिमसहित पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ ।
घटनाबारे थप अनुसन्धान गर्दै उनीहरूमाथि लागूऔषधसम्बन्धी कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।




