पर्सा । सडक छ, पुल पनि छ । तर पुल पार गर्दा यात्रुका लागि हरेकपटक जोखिम उत्तिकै छ । पर्सागढी नगरपालिका ३ बडनिहार र बागवानाको बीचमा पर्ने जनता सडकको कटहरिया पुल अहिले जीर्ण बन्दै गएपछि यात्रु तथा सवारी चालकलाई सास्ती भएको छ ।
पुलको सडक सतह ठाउँ–ठाउँमा भत्किएर ठूला खाल्डाखुल्डी बनेका छन् । सडकको ढलान फुटेर कतिपय ठाउँमा गहिरा खाल्डा परेका छन् । वर्षा भएपछि ती खाल्डामा पानी भरिँदा अवस्था झनै जोखिमपूर्ण हुने गरेको छ । पानीले खाल्डाको गहिराइ देखिन छाड्ने भएकाले सवारीचालकलाई पुल पार गर्दा थप सावधानी अपनाउनुपर्ने अवस्था छ ।
विशेष गरी मोटरसाइकल र साइकल चालक तथा पैदल यात्रुले पुल पार गर्दा दुर्घटनाको जोखिम मोल्नुपरेको स्थानीयको भनाइ छ । सामान्य समयमा समेत असहज बनेको पुल वर्षायाममा पानी जम्दा झनै कठिन बन्ने गरेको छ ।
कटहरिया पुलको अवस्था लामो समयदेखि बिग्रँदै गएपनि नियमित मर्मतसम्भार हुन नसक्दा समस्या थप गम्भीर बन्दै गएको छ । सडक सतहमा देखिएका खाल्डाखुल्डी तत्काल पुर्नेदेखि पुलको समग्र अवस्थाको प्राविधिक परीक्षण गर्नुपर्ने आवश्यकता देखिएको स्थानीय बताउँछन् ।
यो पुल पर्साको उत्तरी क्षेत्रलाई पटेर्वासुगौली, सखुवाप्रसौनी र पर्सागढी हुँदै जीतपुरसिमरा तथा वीरगञ्जसँग जोड्ने महत्वपूर्ण ग्रामीण सडकखण्डमा पर्छ । दैनिकजसो स्थानीय बासिन्दा, विद्यार्थी, किसान, व्यापारी तथा विभिन्न कामका लागि आवतजावत गर्ने सर्वसाधारण यही सडक हुँदै ओहोरदोहोर गर्छन् ।
पुल जीर्ण हुँदै गएपछि यसको असर केवल सवारी आवागमनमा मात्र सीमित छैन । विद्यालय जाने विद्यार्थी, कृषि उपज बजारसम्म पुर्याउने किसानदेखि दैनिक कामका लागि यात्रा गर्ने सर्वसाधारणसम्मले जोखिमपूर्ण सडक पार गर्नुपर्ने अवस्था छ ।
स्थानीयका अनुसार अहिले पुलमा देखिएका खाल्डाखुल्डी पुर्नु तत्कालको आवश्यकता हो । त्यससँगै फुटेको ढलान मर्मत गर्नुका साथै पुलको संरचनाकै प्राविधिक निरीक्षण गर्नुपर्ने देखिन्छ । आवश्यकताअनुसार मर्मत वा पुनर्निर्माणको काम अघि बढाउन सके दुर्घटनाको जोखिम घटाउन सकिने उनीहरूको भनाइ छ ।
सम्बन्धित निकायले समयमै ध्यान नदिए पुलको क्षति थप बढ्न सक्ने र भविष्यमा आवतजावत नै प्रभावित हुने स्थानीयको चिन्ता छ । त्यसैले सडक विभाग तथा सम्बन्धित स्थानीय तहले कटहरिया पुलको स्थलगत निरीक्षण गरी तत्काल मर्मत सम्भार तथा दीर्घकालीन संरक्षणको काम अघि बढाउनुपर्ने माग स्थानीयले गरेका छन् ।




