रौतहट । रौतहटको कटहरियामा पाँच वर्षीया बालिकालाई फकाएर सुनसान स्थानमा लगेको र जबरजस्ती करणीको प्रयास गरेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कटहरिया नगरपालिका ५ का २२ वर्षीय सर्विन यादव छन् । उनी कटहरियास्थित द ड्रीम एकेडेमीको स्कुल बसमा खलाँसीका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
पीडित परिवारका अनुसार बुधबार बिहान बालिका विद्यालयमा अध्ययनरत आफ्ना दाजुलाई टिफिन पुर्याउन विद्यालय पुगेकी थिइन् । सोही क्रममा विद्यालय परिसरबाट बाहिर निस्किएकी बालिकालाई यादवले फकाएर विद्यालय नजिकै रहेको खाली छाप्रोमा लगेको आरोप लागेको छ ।
छाप्रोमा पुर्याएपछि यादवले बालिकामाथि जबरजस्ती करणीको प्रयास गरेको परिवारको आरोप छ । बालिका त्यहाँबाट उम्किएर घर पुगेपछि आमालाई घटनाबारे जानकारी गराएकी थिइन् ।
घटनाबारे जानकारी पाएलगत्तै बालिकाकी आमा विद्यालय पुगेकी थिइन् । परिवारका अनुसार विद्यालयका शिक्षकलाई घटनाबारे जानकारी गराउँदा विद्यालयको बदनाम हुने भन्दै घटना सार्वजनिक नगर्न दबाब दिइएको आरोप छ । यस विषयमा प्रहरीले भने अनुसन्धान जारी रहेकाले घटनाका सबै पक्षमाथि छानबिन भइरहेको जनाएको छ ।
घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय कटहरियाबाट वरिष्ठ सई जयप्रकाश साहको नेतृत्वमा प्रहरी टोली विद्यालय पुगेको थियो । प्रहरीले विद्यालय परिसर तथा घटनास्थलको निरीक्षण गर्नुका साथै सीसीटीभी फुटेज समेत जाँच गरेको जनाएको छ ।
पीडित परिवारका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा सीसीटीभी फुटेजमा यादवले बालिकालाई विद्यालय परिसरबाट नजिकैको छाप्रोतर्फ लैजाँदै गरेको देखिएको छ । त्यसपछि यादवलाई विद्यालय परिसरबाटै नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका यादवलाई थप अनुसन्धान र कानुनी प्रक्रियाका लागि बुधबार साँझ इलाका प्रहरी कार्यालय गरुडामा बुझाइएको छ । बालिकालाई पनि स्वास्थ्य परीक्षण तथा आवश्यक कानुनी प्रक्रियाका लागि गरुडा पठाइएको वरिष्ठ सई साहले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय गरुडाका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ । स्वास्थ्य परीक्षण, बालिकाको बयान तथा अन्य प्रमाणका आधारमा घटनाको वास्तविक अवस्था यकिन हुने प्रहरीले जनाएको छ ।




