पर्सा । पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष तथा नेकपा एमालेका नेता जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । आफ्नै सालीको मृत्यु प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले उनलाई वीरगन्जबाट पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार जगरनाथपुर गाउँपालिका ५ घर भई हाल वीरगन्ज महानगरपालिका १३ मुर्लीमा बस्दै आएका करिब ४० वर्षीय जाफिरलाई बिहीबार साँझ पक्राउ गरिएको हो ।
प्रहरी प्रवक्ता डीएसपी चक्रबहादुर मल्लका अनुसार जाफिरलाई ज्यानसम्बन्धी कसुर तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो ।
भैंसी तथा पाडाको व्यापार गर्दै आएका जाफिरमाथि जगरनाथपुर गाउँपालिका ४ निवासी आफ्नी सालीको मृत्यु घटनामा संलग्न रहेको आरोप छ । घटनाको अनुसन्धानका क्रममा प्रहरीले यसअघि उनका दाजु नासिर अहमद मन्सुरीलाई पनि पक्राउ गरिसकेको छ ।
नासिरलाई गत असोज ३ गते पक्राउ गरिएको थियो । उनी हाल प्रहरी हिरासतमा रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । प्रहरीले जाफिर र नासिरमाथि लागेको आरोपबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।




