वीरगन्ज । वीरगन्ज नाका हुँदै भारतबाट ठूलो परिमाणमा रासायनिक मल भित्रिन थालेपछि कृषि सामाग्री कम्पनी लिमिटेडका वीरगन्जस्थित सबै गोदाम भरिएका छन् । जिटुजी प्रक्रियाबाट खरिद गरिएको युरिया र डिएपी लगातार भित्रिएपछि कम्पनीका आफ्नै तथा भाडामा लिइएका गरी २० वटै गोदाममा मल भरिएको हो ।
कम्पनीले आफ्ना १२ वटा गोदामसहित थप आठ वटा गोदाम भाडामा लिएर मल भण्डारण गर्दै आएको छ । वीरगन्जस्थित प्रादेशिक कार्यालय परिसरमा छ तथा भुटनदेवीमा छ गरी कम्पनीका १२ गोदाम छन् । यसबाहेक साल्ट ट्रेडिङका दुई गोदाम पनि भाडामा लिएर प्रयोग गरिएको छ ।
ठूलो परिमाणमा मल एकैपटक आएपछि थप भण्डारणका लागि परवानीपुरमा टेरा मोटर्सका पाँच र ओम्नीको एउटा गरी थप छ वटा गोदाम भाडामा लिइएको कार्यालयले जनाएको छ । कृषि सामाग्री कम्पनीको प्रादेशिक कार्यालय वीरगन्जका निमित्त प्रमुख दिनेश शर्माका अनुसार हाल कम्पनीका सबै गोदाम भरिइसकेका छन् ।
वीरगन्ज भन्सारमा रहेको तथा नाकाबाट भित्रिन लागेको थप मल राख्न १० हजारदेखि १५ हजार मेट्रिक टन क्षमताका थप गोदाम खोजी भइरहेको उनले बताए । कम्पनीका १२ वटा आफ्नै गोदामको कुल क्षमता २५ हजार १०० मेट्रिक टन छ । ति गोदाममा अहिले २२ हजार ३१६.१४ मेट्रिक टन रासायनिक मल भण्डारण गरिएको छ ।
त्यस्तै १० हजार मेट्रिक टन क्षमताका आठ वटा भाडाका गोदाममा ११ हजार ५४७ मेट्रिक टन मल राखिएको छ । यसरी वीरगन्जमा रहेका २० वटा गोदामको कुल क्षमता ३५ हजार १०० मेट्रिक टन भएपनि हाल ३३ हजार ८६३.५० मेट्रिक टन मल भण्डारण भइसकेको छ ।
वीरगन्ज भन्सारमा अझै साढे सात हजार मेट्रिक टन युरिया र एक हजार ७०० मेट्रिक टन डिएपी रहेको कार्यालयले जनाएको छ । भन्सारमा रहेको उक्त मलसँगै थप आउने मलका लागि समेत तत्काल थप भण्डारण स्थल आवश्यक परेको हो ।
हिउँदे बालीका लागि मल मौज्दात
वीरगन्जका गोदाममा रहेको मलमध्ये आगामी हिउँदे बालीका लागि वितरण गर्न १५ हजार ७०० मेट्रिक टन युरिया, आठ हजार ९.६४ मेट्रिक टन डिएपी र तीन हजार ४७१ मेट्रिक टन पोटास मौज्दात रहेको छ । यसका अतिरिक्त करिब पाँच हजार ७६९ मेट्रिक टन रासायनिक मल बफर स्टकका रूपमा राखिएको छ ।
यता ग्लोबल टेन्डरबाट खरिद गरिएको थप ३० हजार मेट्रिक टन युरिया र ३० हजार मेट्रिक टन डिएपीसमेत भित्रिने क्रममा रहेकाले वीरगन्जमा मल भण्डारणको चुनौती थपिने देखिएको छ । ठूलो परिमाणमा मल आयात भइरहेपनि पर्याप्त भण्डारण पूर्वाधार नहुँदा कम्पनीलाई व्यवस्थापन गर्न कठिनाइ हुने भएको हो ।
वीरगन्ज नाकाबाट अन्य कार्यालयका लागि पनि मल
सरकारले जिटुजी प्रक्रियामार्फत भारतबाट खरिद गरेको ३० हजार मेट्रिक टन युरियामध्ये वीरगन्ज प्रादेशिक कार्यालयका लागि छुट्याइएको ११ हजार ५०० मेट्रिक टन युरिया वीरगन्ज आइसकेको छ । बाँकी युरिया भैरहवा र विराटनगर प्रादेशिक कार्यालयका लागि छुट्याइएको छ ।
भैरहवा प्रादेशिक कार्यालयका लागि छुट्याइएको केही मलसमेत वीरगन्ज नाका हुँदै नेपाल भित्रिरहेको छ । यसले वीरगन्जमा भण्डारणको चाप थप बढाएको कार्यालयले जनाएको छ ।
त्यस्तै, खरिद गरिएको २० हजार मेट्रिक टन डिएपीमध्ये हालसम्म चार हजार ९७७ मेट्रिक टन वीरगन्जमा भण्डारण भइसकेको छ । यसमध्ये सात हजार ६०० मेट्रिक टन वीरगन्ज प्रादेशिक कार्यालयका लागि छुट्याइएको छ भने बाँकी डिएपी भैरहवा र विराटनगर कार्यालयका लागि हो ।
निमित्त प्रमुख शर्माका अनुसार अहिले मुख्य रूपमा गहुँ र तेलहन बालीका लागि रासायनिक मलको आवश्यकता पर्नेछ । धानबालीका लागि भने हाल युरिया र डिएपीको माग नरहेको उनले बताए ।




