धनुषा । धनुषाबाट पूर्वतर्फ जाँदै गरेको टिपरले सिरहाको गोलबजार नगरपालिका ४ मा इभीलाई ठक्कर दिँदा एक महिलाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालका अनुसार बिहान करिब ७ बजेतिर म प्र ०३–००२ ख ३९९६ नम्बरको टिपरले विपरीत दिशाबाट आइरहेको म प्र इ १–००१ ज ०१२४ नम्बरको इभीलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएकी गोलबजार नगरपालिका ४ निवासी ४५ वर्षीया पत्नी शोभाकुमारी यादवको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । उनकी ३२ वर्षीया छोरी प्रियङ्का कुमारी यादवलाई थप उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल लगिएको छ ।
दुर्घटनामा इभी चालक धनगढीमाई नगरपालिका २ निवासी मञ्जुर खान, गोलबजार ४ की ३५ वर्षीया पत्नी संगीता देवी मण्डल, ५० वर्षीया पत्नी फूलकुमारी याद, २२ वर्षीया छोरी प्रियङ्का कुमारी यादव र गोलबजार ६ निवासी सत्यनारायण महतोकी ४५ वर्षीया पत्नी ललिता देवी महतो घाइते भएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




