बारा । बाराको पचरौता नगरपालिका ६ पकडियास्थित एक खाद्यान्न गोदामबाट ठूलो परिमाणमा हरियो केराउ बरामद भएको छ । सशस्त्र प्रहरी र वीरगञ्ज भन्सार कार्यालयको संयुक्त टोलीले विशेष सूचनाका आधारमा खानतलासी गर्दा १६३ बोरा अर्थात् ८ हजार १५० किलो हरियो केराउ बरामद गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल मधेश प्रदेश प्रमुख डिआईजी बिष्णु भट्टका अनुसार बरामद केराउको मूल्य ७ लाख ३३ हजार ५ सय रुपैयाँ रहेको छ । बरामद सामाग्री आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालय, पर्सामा बुझाइएको छ ।
शुक्रबार सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेडक्वार्टर बाराका प्रमुख एसपी विशाल सिलवाल र वीरगञ्ज भन्सार कार्यालयबाट खटिएको संयुक्त टोलीले पचरौता ६ पकडियास्थित सचितानन्द रौनियारको रौनियार गल्ला तथा खाद्यान्न भण्डारमा खानतलासी गरेको थियो ।
सशस्त्र प्रहरी प्रवक्ता डिएसपी विक्रममणि अधिकारीले विशेष सूचनाका आधारमा गोदाममा खानतलासी गर्दा १६३ बोरा हरियो केराउ फेला परेको जानकारी दिए ।
उनका अनुसार बरामद केराउ वैधानिक रूपमा खरिद तथा भण्डारण गरिएको हो वा होइन भन्ने विषय भन्सार कार्यालयबाट हुने कागजात तथा अन्य परीक्षणपछि यकिन हुनेछ ।
यता, व्यवसायी पक्षले भने बरामद गरिएको केराउ वैधानिक रूपमा खरिद गरी गोदाममा राखिएको दाबी गरेको छ । व्यवसायी पक्षका अनुसार केराउ खरिदको बिल, भ्याट बिललगायत आवश्यक कागजात आफूहरूसँग रहेका छन् ।
कागजात हुँदा हुँदै पनि विशेष सूचनाका आधारमा सामान नियन्त्रणमा लिइएको भन्दै व्यवसायी पक्षले घटनाप्रति आपत्ति जनाएको छ । व्यवसायी पक्षले राजनीतिक पूर्वाग्रहका कारण गलत सूचना दिइएको दाबी गर्दै खरिद बिल, भ्याट बिल तथा अन्य कागजातको निष्पक्ष परीक्षण गर्न माग गरेको छ ।
कागजात वैध रहेको पुष्टि भए नियन्त्रणमा लिइएको केराउ कानुनबमोजिम फिर्ता गर्नसमेत व्यवसायी पक्षले सम्बन्धित निकायसँग आग्रह गरेको छ । सशस्त्र प्रहरीले भने विशेष सूचनाका आधारमा खानतलासी गरी केराउ बरामद गरिएको जनाएको छ ।
बरामद केराउको आयात, खरिद तथा भण्डारण प्रक्रिया कानुनसम्मत भए–नभएको विषय अहिले नै निष्कर्षमा पुग्न नसकिने प्रहरीको भनाइ छ । अब वीरगञ्ज भन्सार कार्यालयले बरामद केराउसँग सम्बन्धित बिल, भ्याट बिललगायत कागजात परीक्षण गर्नुका साथै यसको स्रोत र आयातसम्बन्धी विवरण समेत जाँच गर्नेछ ।
उक्त परीक्षणपछि मात्रै केराउ वैधानिक रूपमा भण्डारण गरिएको हो वा भन्सारसम्बन्धी कसुरमा परेको हो भन्ने यकिन हुने प्रहरीले जनाएको छ ।




