रौतहट । रौतहटको गौर भन्सार नाकाबाट स्रोत नखुलेको ठूलो परिमाणको भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । गौर नगरपालिका १ स्थित गौर भन्सार कार्यालय अगाडि शुक्रबार साँझ करिब ७:४५ बजे गरिएको संयुक्त चेकजाँचका क्रममा भारतबाट पैदल नेपाल प्रवेश गर्दै गरेका दुई जनालाई शंकास्पद अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको शिवहर जिल्ला रामपुर भटहा थाना बस्ने २२ वर्षीय करण कुमार गिरी र ३५ वर्षीय लालबाबु राय रहेका छन् । भन्सार सुरक्षा गार्ड र सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म, गौरबाट खटिएको संयुक्त टोलीले उनीहरूको शरीर तथा साथमा रहेको सामान जाँच गर्दा १ लाख ८ हजार ५ सय भारतीय रुपैयाँ र एउटा मोबाइल फोन बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए ।
बरामद रकमको स्रोत खुलाउन नसकेपछि दुवै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाइएको छ । प्रहरीका अनुसार बरामद रकम कहाँबाट प्राप्त भएको हो र उनीहरू उक्त रकमसहित नेपाल प्रवेश गर्नुको उद्देश्य के थियो भन्ने विषयमा समेत अनुसन्धान भइरहेको छ ।




