पर्सा । पर्साको जीराभवानी गाउँपालिका ४ स्थित इलाका प्रशासन कार्यालय, सुपौलीका कार्यालय प्रमुख एक महिनादेखि अनुपस्थित हुँदा सर्वसाधारण नागरिक प्रशासनिक सेवाबाट प्रभावित भएका छन् ।
कार्यालय प्रमुखको अनुपस्थितिका कारण नयाँ नागरिकता बनाउने, नागरिकताको प्रतिलिपि लिने, विभिन्न सिफारिस तथा अन्य प्रशासनिक कामका लागि आवश्यक निर्णय र स्वीकृति लिनुपर्ने सेवाहरू प्रभावित भएका हुन् ।
कार्यालयका अन्य कर्मचारी नियमित रूपमा उपस्थित भए पनि कार्यालय प्रमुखको निर्णय आवश्यक पर्ने काम अघि बढाउन समस्या भएको बताइएको छ । सुपौलीस्थित इलाका प्रशासन कार्यालयबाट सेवा लिन पर्साका ठोरी, पटेर्वासुगौलीलगायत ग्रामीण क्षेत्रबाट सेवाग्राही लामो दूरी पार गरेर आउने गरेका छन् ।
तर कार्यालय प्रमुख अनुपस्थित हुँदा आवश्यक प्रक्रिया पूरा हुन नसकेपछि कतिपय सेवाग्राही काम सम्पन्न नगरी घर फर्किन बाध्य भएका छन् । स्थानीय सेवाग्राही विशाल चौधरीका अनुसार नयाँ नागरिकता बनाउन, नागरिकताको प्रतिलिपि लिन तथा अन्य कागजी प्रक्रिया पूरा गर्न कार्यालय पुग्ने नागरिकहरू दैनिकजसो निराश भएर फर्किनुपरेको छ ।
कार्यालयको सेवा प्रभावित हुँदा विद्यार्थी, ज्येष्ठ नागरिक तथा वैदेशिक रोजगारीका लागि विदेश जाने तयारीमा रहेका युवाहरू बढी समस्यामा परेको चौधरीले बताए ।
कार्यालयका एक कर्मचारीका अनुसार अन्य सहायक कर्मचारीहरू नियमित रूपमा कार्यालयमा उपस्थित भएर आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन् । तर कार्यालय प्रमुखको स्वीकृति तथा निर्णय आवश्यक पर्ने प्रशासनिक कामहरू अघि बढाउन कठिनाइ भइरहेको छ ।
कार्यालय प्रमुखजस्तो जिम्मेवार पदमा लामो समयसम्म व्यक्ति अनुपस्थित हुँदा पनि सेवा प्रवाह सहज बनाउन सम्बन्धित निकायले प्रभावकारी पहल नगरेको भन्दै स्थानीयवासीले असन्तुष्टि जनाएका छन् । उनीहरूले नागरिकलाई आधारभूत प्रशासनिक सेवा लिन पटकपटक कार्यालय धाउनुपर्ने अवस्था तत्काल अन्त्य गर्न माग गरेका छन् ।
स्थानीयवासीले जिल्ला प्रशासन कार्यालय, पर्सा तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै तत्काल कार्यालय प्रमुखको व्यवस्था गरी प्रभावित सेवाहरू नियमित सञ्चालन गर्न आग्रह गरेका छन् । नागरिकलाई सहज, छिटो र प्रभावकारी रूपमा प्रशासनिक सेवा उपलब्ध गराउने व्यवस्था मिलाउनुपर्ने उनीहरूको माग छ ।




