रौतहट । रौतहटको कटहरिया बजारमा प्रहरी र ‘जेनजी’ युवाको समूहले संयुक्त रूपमा बजार सरसफाइ तथा व्यवस्थापन अभियान सञ्चालन गरेको छ ।
इलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख वरिष्ठ प्रहरी नायब निरीक्षक (वरिष्ठ सई) जयप्रकाश साहको नेतृत्वमा प्रहरी टोली र युवाहरूले बजार क्षेत्रमा सरसफाइ गरेका हुन् । कार्यक्रममा वरिष्ठ सई साहसँगै युवा नेता सोनु कुशवाहा, राजबाबु साह, दिपु साह, ओमजी साहलगायत युवाहरूको सहभागिता थियो ।
नेपाल प्रहरीले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत बजार व्यवस्थापन, सरसफाइ तथा शान्ति–सुरक्षासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले अभियान सञ्चालन गरिएको जनाएको छ ।
अभियानका क्रममा बजारलाई व्यवस्थित बनाउन व्यवसायी तथा स्थानीयवासीलाई पसलका सामान नालाभन्दा भित्रपट्टि राख्न, नाला तथा सडक अतिक्रमण नगर्न र सडक किनार खुला राख्न आग्रह गरिएको थियो। त्यस्तै, सवारीसाधन पार्किङका लागि पर्याप्त स्थान छाड्न तथा बजारको सरसफाइमा सहयोग गर्न पनि अनुरोध गरिएको थियो ।
प्रहरीको प्रयास मात्रै पर्याप्त छैन
कटहरिया बजारमा सडक तथा नाला अतिक्रमण, अव्यवस्थित पार्किङ र जथाभावी सामान राख्ने प्रवृत्तिले बजारको सौन्दर्यसँगै सर्वसाधारणको आवागमनमा समेत समस्या सिर्जना गर्दै आएको छ ।
यस्तो अवस्थामा प्रहरी र युवाहरूको संयुक्त सरसफाइ तथा जनचेतनामूलक अभियान सकारात्मक सुरुवात भएपनि यसको प्रभाव दीर्घकालीन बनाउन नियमित अनुगमन र बजारवासीको सक्रिय सहयोग आवश्यक देखिन्छ ।
बजार व्यवस्थित बनाउने जिम्मेवारी प्रहरी प्रशासनको मात्र नभई व्यवसायी, स्थानीयवासी र सम्बन्धित स्थानीय तहको समेत हो । सबै पक्षबीच प्रभावकारी समन्वय हुन सके कटहरिया बजारलाई सुरक्षित, सफा र व्यवस्थित बनाउन सकिने देखिन्छ ।




