जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका १६ कपिलेश्वरमा २० वर्षीया एक महिला आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छन् । स्थानीय विनोद दासकी पत्नी प्रियंका दास आइतबार साँझ आफ्नै सुत्ने कोठामा मृत भेटिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार प्रियंका साँझ करिब ६:५० बजे कोठाको सिलिङ पंखामा सलको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । उनका श्रीमान् विनोदले पासो खोलेर शवलाई ओछ्यानमा राखेको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ ।
घटनाको सूचना पाएपछि कपिलेश्वर प्रहरी चौकीबाट प्रहरी टोली घटनास्थल पुगेको थियो । प्रहरीले घटनास्थललाई सुरक्षित राखी अनुसन्धान अघि बढाए पनि मृतकका आफन्त तथा स्थानीयवासीले घटनालाई शंकास्पद भन्दै ‘हत्या’ भएको आशंका गरेका छन् ।
उनीहरूले घटनाको निष्पक्ष छानबिन र सत्यतथ्य सार्वजनिक गर्न माग गर्दै अबेर रातिसम्म प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गरेका थिए । स्थानीयको विरोधका कारण हालसम्म शवको मुचुल्का उठाउन नसकिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
घटनामा शंकास्पद भूमिका हुन सक्ने भन्दै प्रहरीले मृतकका श्रीमान् विनोदलाई प्रारम्भिक सोधपुछका लागि नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार आजै शवको मुचुल्का उठाएर पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल पठाउने तयारी भइरहेको छ ।
घटनाको वास्तविक कारण र मृत्युको प्रकृति पोस्टमार्टम तथा थप अनुसन्धानपछि स्पष्ट हुने प्रहरीले जनाएको छ ।




