काठमाडौं । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा वैदेशिक रोजगारीमा पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको तारकेश्वर नगरपालिका ५ का ३३ वर्षीय दिपेन्द्र दाहाल, तारकेश्वर नगरपालिका १० का धादिङ निवासी २७ वर्षीय रमेश दनै, टोखा नगरपालिका ९ का बागलुङ निवासी २६ वर्षीय युवराज रिजाल र रोल्पाका ५० वर्षीय बिरसिंह बाठा रहेका छन् ।
प्रहरीका अनुसार दिपेन्द्रले स्पेन पठाइदिने भन्दै तीन जना पीडितबाट ३५ लाख ९४ हजार रुपैयाँ, रमेशले रोमानिया पठाइदिने भन्दै एक जना पीडितबाट २ लाख रुपैयाँ, युवराजले न्यूजिल्याण्ड पठाइदिने भन्दै एक जना पीडितबाट ४ लाख रुपैयाँ र बिरसिंहले बेलायत पठाइदिने भन्दै एक जना पीडितबाट १६ लाख ७८ हजार रुपैयाँ लिएका थिए ।
रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको भन्दै पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले दिपेन्द्रलाई काठमाडौं महानगरपालिका १० बाट शुक्रबार, रमेशलाई तारकेश्वर नगरपालिका १० बाट शनिबार, युवराजलाई टोखा नगरपालिका ९ बाट र बिरसिंहलाई काठमाडौं महानगरपालिका १० बाट सोमबार पक्राउ गरेको जनाएको छ ।
पक्राउ परेका चारै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




