जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका ८ स्थित रामानन्द चोकमा अचेत अवस्थामा भेटिएका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ ।
प्रहरीका अनुसार मंगलबार बिहान करिब पौने १२ बजे चोकमा एक पुरुष लडिरहेको अवस्थामा भेटिएका थिए । उनको अवस्था गम्भीर देखिएपछि तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको थियो ।
अस्पताल पुर्याइएका ती पुरुषलाई चिकित्सकले मंगलबार दिउँसो करिब १२ बजे मृत घोषणा गरेका हुन् । मृतकको नाम, थर र ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीका अनुसार मृतक अन्दाजी ३५–३६ वर्षका छन् । उनको वर्ण गहुँगोरो, उचाइ करिब ५ फिट ७ इन्च र कपाल कालो रहेको छ । मृतकले रातो भेस्ट र जिन्सको पाइन्ट लगाएका थिए । हालसम्म उनको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।
प्रहरीले मृतकको फोटो तथा हुलियाका आधारमा पहिचान गर्न सक्ने व्यक्तिलाई नजिकको प्रहरी कार्यालय वा सम्बन्धित प्रहरी कार्यालयमा जानकारी गराइदिन अनुरोध गरेको छ । मृत्युको कारण भने खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।




