जनकपुरधाम । धनुषाको जनकपुरधाम उपमहानगरपालिका ८ स्थित दशरथ तलाउमा एक पुरुषको शव फेला परेको छ । मंगलबार बिहान दशरथ मन्दिरअगाडि रहेको पोखरीमा अन्दाजी ५५ वर्षीय पुरुषको शव फेला परेको हो ।
मृतकको पहिचान भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । स्थानीयले बिहान करिब पौने १० बजे पोखरीमा एक पुरुष तैरिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरीले शव पोखरीबाट बाहिर निकालेको थियो ।
धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालका अनुसार प्रारम्भिक अनुसन्धानबाट ती पुरुष अघिल्लो दिन नै पोखरीमा डुबेको हुन सक्ने आशंका गरिएको छ ।
शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ । घटनाको वास्तविक कारण तथा मृतकको पहिचान खुलाउन थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता खनालले जानकारी दिए ।




