रौतहट । रौतहटको गौर नगरपालिका ५ स्थित बरहवा तालमा हाम फालेर बेपत्ता भएका एक पुरुषको शव करिब दुई घण्टापछि फेला परेको छ । बुधबार बिहान करिब ७:४५ बजे बरहवा पुलबाट तालमा हाम फालेका स्थानीय ४०/४५ वर्षीय अजयकुमार केशरी बेपत्ता भएका थिए ।
घटनाको सूचना प्राप्त भएपछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको संयुक्त टोलीले तालमा खोजी अभियान थालेको थियो । जिल्ला प्रहरी कार्यालय रौतहटबाट डीएसपी बसन्त गौतमको नेतृत्वमा ३० जना, श्री नारायण दल गण पुरेनवाबाट सेनानी कञ्चन थापाको नेतृत्वमा १५ जना र सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म गौरबाट डीएसपी दुर्गा प्रसाद भट्टको नेतृत्वमा १६ जना सुरक्षाकर्मी खोजीमा परिचालन भएका थिए ।
खोजीका क्रममा बिहान ९:४५ बजे तालबाट केशरीको शव निकालिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी गौतमले जानकारी दिए । शव आवश्यक कानुनी प्रक्रिया तथा पोस्टमार्टमका लागि बिहान १० बजे प्रादेशिक अस्पताल गौरमा पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार केशरी दुई दिनअघि मात्रै सुधार केन्द्रबाट घर फर्किएका थिए । उनी नियमित मदिरा सेवन गर्ने गरेको प्रारम्भिक जानकारीसमेत प्रहरीले जनाएको छ ।




