महोत्तरी । चाडपर्वलाई लक्षित गर्दै महोत्तरीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बुधबारदेखि लागू गरिएको एकीकृत सुरक्षा योजनाअन्तर्गत जिल्लाका संवेदनशील क्षेत्रदेखि सीमा नाकासम्म ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार चाडपर्वका समयमा नागरिकको आवागमन र आर्थिक गतिविधि बढ्ने भएकाले सम्भावित आपराधिक गतिविधि, दुर्घटना, यात्रु ठगी तथा अवाञ्छित गतिविधि नियन्त्रण गर्न सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको हो ।
योजनाअन्तर्गत नेपाल प्रहरीका ७४७ र सशस्त्र प्रहरी बल नेपाल नं. ९ गणका ५८४ गरी १ हजार ३३१ सुरक्षाकर्मी जिल्लाका विभिन्न स्थानमा परिचालन गरिएको छ ।
सुरक्षा निकायले विशेषगरी नागरिकको जीउधनको सुरक्षा, नेपाल–भारत खुला सीमाबाट हुने चोरी–पैठारी, पटका तथा भुइँचम्पालगायत आतिशबाजीका सामग्रीको अवैध ओसारपसार, हातहतियारको कारोबार, सवारी दुर्घटना, यात्रु ठगी र कालोबजारी नियन्त्रणलाई प्राथमिकतामा राखेको छ ।
सीमा नाकादेखि बजारसम्म निगरानी
सुरक्षा योजना लागू भएसँगै नेपाल–भारत खुला सीमा क्षेत्रमा २४ घण्टा पिकेट, चेकपोइन्ट र संयुक्त गस्ती सञ्चालन गरिएको छ । पूर्व–पश्चिम राजमार्ग तथा जिल्लाका भित्री सडकमा आकस्मिक चेकिङ र मोबाइल गस्ती बढाइएको छ ।
त्यस्तै, बजार क्षेत्र, बैंक तथा वित्तीय संस्थामा पैदल गस्ती र सादा पोशाकमा सुरक्षाकर्मी परिचालन गरिएको प्रशासनले जनाएको छ । चाडपर्वका बेला हुन सक्ने चोरी, लुटपाट तथा अन्य आपराधिक गतिविधिमाथि निगरानी बढाइएको छ ।
यात्रुको सहजता र सुरक्षालाई ध्यानमा राख्दै प्रमुख बसपार्क तथा सीमा नाकामा सहायता कक्ष र हेल्थ डेस्क सञ्चालन गर्ने तयारीसमेत गरिएको छ । दुर्गापूजा, मेला तथा मूर्ति विसर्जनका कार्यक्रमलाई व्यवस्थित बनाउन पूर्वस्वीकृत रुट र निर्धारित समयतालिकाअनुसार मात्रै सञ्चालन गर्नुपर्ने व्यवस्था गरिएको छ ।
पटका नचलाउन प्रशासनको आग्रह
जिल्ला सुरक्षा निकायले चाडपर्वका बेला भारतलगायतका स्थानबाट अवैध रूपमा पटका, भुइँचम्पा तथा अन्य आतिशबाजीका सामग्री भित्र्याउने, बिक्री गर्ने र प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
त्यसैगरी सडकमा डोरी वा अन्य अवरोध राखेर जबर्जस्ती चन्दा नउठाउन, जुवातास नखेल्न, मदिरा सेवन गरी सार्वजनिक शान्ति भंग नगर्न तथा सामाजिक सञ्जालमार्फत साम्प्रदायिक सद्भाव खलल पार्ने वा विद्वेष फैलाउने सामग्री प्रसार नगर्न प्रशासनले अपिल गरेको छ ।
शंकास्पद गतिविधि देखिए तत्काल नजिकको प्रहरी कार्यालय वा प्रहरी कन्ट्रोल नम्बर १००, विपद् व्यवस्थापन १२३४, एम्बुलेन्स १०२ र दमकल १०१ मा सम्पर्क गर्न सकिने जनाएको छ ।




