सर्लाही । श्रीमतीलाई हप्तामा दुई पटक अस्पताल पुर्याउनुपर्ने बाध्यता छ । तर लालबन्दी नगरपालिका ६ पाख्रिन टोलका चेतबहादुर सुनुवारसँग अहिले श्रीमतीलाई एक पटक अस्पतालमा लैजाने खर्च जुटाउन पनि मुस्किल छ ।
दुवै मिर्गौला बिग्रिएपछि ३६ वर्षीया सपना सुनुवार विगत छ महिनादेखि थलिनुभएको छ । चिकित्सकले नियमित डायलाइसिस गर्न भनेका छन् । तर आर्थिक अभावले उहाँको उपचार नै प्रभावित भएको छ ।
सरकारी अस्पतालमा डायलाइसिसका लागि पालो नपाएपछि चेतबहादुरले सपनालाई बाराको सदरमुकाम कलैयास्थित एलएस न्यूरो अस्पताल लैजाने गर्नुभएको छ । अस्पतालले डायलाइसिस निःशुल्क गरिदिए पनि अस्पतालसम्म पुग्ने खर्च, रगत र औषधिको भार भने परिवारकै काँधमा छ ।
कलैयासम्म बसमा जाँदा सपना र चेतबहादुरको एक पटकको यात्रामै करिब १ हजार २ सय रुपैयाँ खर्च हुन्छ । त्यसबाहेक रगत र औषधिका लागि ४ हजार रुपैयाँभन्दा बढी खर्च हुने गरेको चेतबहादुर बताउनुहुन्छ ।
पालोका लागि अस्पताल धाउँदा पनि निराशा
सपनाको नियमित उपचारका लागि नजिकका अस्पतालमा डायलाइसिसको पालो मिलाइदिन चेतबहादुरले धेरै ठाउँमा अनुरोध गर्नुभयो । प्रादेशिक अस्पताल जनकपुर र नारायणी अस्पताल वीरगन्जमा हारगुहार गरेपनि पालो पाउन नसकेको उहाँको गुनासो छ ।
छिमेकी ईश्वरपुर नगरपालिकाको बयलवासस्थित नगर अस्पतालमा समेत केही समयअघि डायलाइसिस सेवा सुरु भएपछि त्यहाँ पनि पालो माग्न पुग्नुभयो । तर आफ्नै नगरपालिकाभित्रका बिरामीलाई समेत पर्याप्त ठाउँ दिन नसकिएको जवाफ पाएपछि उहाँ निराश भएर फर्किनुभयो ।
चन्दाले धानेको उपचार
सपनाको उपचार अहिलेसम्म छिमेकी, गाउँले र विदेशमा रहेका मनकारी व्यक्तिको सहयोगले धानिएको छ । गाउँमा चन्दा उठाएर तथा बजारमा सहयोग मागेर जम्मा भएको ५५ हजार रुपैयाँ र विदेशबाट सहयोगस्वरूप प्राप्त ५२ हजार रुपैयाँ उपचारमै खर्च भइसकेको चेतबहादुर बताउनुहुन्छ ।
सुरुमा छिमेकी र गाउँलेले मिलेर सहयोग जुटाइदिए । तर अहिले उनीहरू पनि आफ्नै काममा व्यस्त भएपछि चेतबहादुर आफैँ सहयोग माग्नुपर्ने अवस्थामा पुग्नुभएको छ ।
मजदुरी छाडेर श्रीमतीको स्याहार
चेतबहादुर रोजगारीका लागि भारतको नयाँदिल्लीमा मजदुरी गर्नुहुन्थ्यो । श्रीमती बिरामी भएपछि उहाँ छ महिनादेखि घरमै हुनुहुन्छ । आम्दानीको स्रोत बन्द भएपछि परिवारको आर्थिक अवस्था झन् कमजोर बनेको छ ।
त्यसमाथि चेतबहादुर आफैँलाई पनि सानैदेखि हातखुट्टा काम्ने समस्या रहेको उहाँ बताउनुहुन्छ । सुनुवार दम्पतीका छ वर्ष र तीन वर्षका दुई छोरी छन् । परिवारमा कमाउने अन्य सदस्य छैनन् । सम्पत्तिका नाममा छ धुर जग्गामा बनेको एउटा कच्ची घर मात्रै रहेको चेतबहादुरले बताउनुभयो ।
तीन महिनामा आउने पाँच हजारले कसरी पुग्ला डायलाइसिस
मिर्गौला पीडित बिरामीका लागि नगरपालिकाबाट मासिक ५ हजार रुपैयाँ सहयोग उपलब्ध हुने व्यवस्था छ । तर उक्त रकम तीन महिनामा एकमुष्ट आउने भएकाले नियमित डायलाइसिसका लागि तत्काल आवश्यक पर्ने रकम जुटाउन कठिन भएको चेतबहादुरको भनाइ छ ।
डायलाइसिस हप्तामा दुई पटक गर्नुपर्ने, त्यससँगै रगत र औषधि पनि आवश्यक पर्ने अवस्थामा तीन महिनापछि आउने रकमले दैनिक उपचार खर्च धान्न नसकिएको उहाँ बताउनुहुन्छ ।
आम्दानीको स्रोत बन्द भएको, बचत सकिएको र ऋण तथा सहयोगको भरमा उपचार चलिरहेको अवस्थामा चेतबहादुर अहिले श्रीमतीको जीवन जोगाउन सहयोगको खोजीमा हुनुहुन्छ ।
सपनाको उपचारमा सहयोग गर्न चाहनेले उहाँको नाममा एनएमबी बैंक, लालबन्दी शाखामा रहेको बैंक खातामा रकम जम्मा गर्न सक्ने परिवारले जनाएको छ । थप जानकारी तथा सहयोगका लागि ९७०२४१३६३२ मा सम्पर्क गर्न सकिनेछ ।




