धनुषा । धनुषाको जनकपुरधाममा धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका ५ निवासी २२ वर्षीय मोहमद ईलसाद खान रहेका छन् । उनलाई बिहीबार बेलुकी जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका ५ सोनारपट्टी दाहा चोक निवासी २४ वर्षीय आमिन साफीलाई पुरानो रिसइबीका कारण मोहमद ईलसादले जनकपुरधाम ५ स्थित रहिम पथ नजिकै धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारबाट गम्भीर घाइते भएका साफीको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा बिहीबार बेलुकी मृत्यु भएको हो ।
सोही घटनामा धारिलो हतियार प्रहारबाट घाइते भएका जनकपुरधाम ५ निवासी २५ वर्षीय ईम्तियाज राईनको पनि प्रादेशिक अस्पताल जनकपुरमै उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




