काठमाडौं । सार्वजनिक बसमा सवार यात्रुबाट ३२.७३० ग्राम खैरो हेरोइन बरामद भएको छ । लागूऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग नागढुंगाबाट खटिएको संयुक्त टोलीले तीन जना भारतीय र दुई जना नेपालीसहित पाँच जनालाई खैरो हेरोइनसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको बिहारस्थित समस्तीपुरका १९ वर्षीय पुष्पम प्रकाश,२५ वर्षीय महेश कुमार र १९ वर्षीय सोनु कुमार छन् । त्यस्तै,धादिङको गल्छी गाउँपालिका ६ की २३ वर्षीया कृष्टी खड्की र २५ वर्षीय रामकृष्ण खड्की पनि पक्राउ परेका छन् ।
प्रहरीका अनुसार शुक्रबार काठमाडौंको चन्द्रागिरि नगरपालिका २ स्थित सुरुङमार्गमा जनकपुरबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बस जाँच गर्ने क्रममा उनीहरू पक्राउ परेका हुन् । उनीहरूको साथबाट ट्रामाडोलका १ हजार ११० क्याप्सुल,मोबाइल थान ८ र ७५ हजार २२० रुपैयाँ नगद समेत बरामद भएको छ ।
प्रहरीले उनीहरूको साथबाट ३२.७३० ग्राम खैरो हेरोइन,ट्रामाडोलका १ हजार ११० क्याप्सुल, आठ थान मोबाइल र ७५ हजार २२० रुपैयाँ नगद बरामद गरेको छ । पक्राउ परेका पाँचै जनालाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि प्रहरी वृत्त थानकोटमा बुझाइएको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।




