रौतहट । रौतहटको कटहरिया नगरपालिकामा विद्युत महसुलको बक्यौता नतिरेपछि दशैंको मुखमै खानेपानी संकट उत्पन्न भएको छ । खानेपानी उपभोक्ता समितिको विद्युत लाइन काटिएपछि कटहरिया नगरपालिका ४ र ५ का करिब १ हजार ६ सय परिवार तीन दिनदेखि खानेपानीबाट वञ्चित भएका छन् ।
हिन्दुहरूको महान् पर्व बडादशैं नजिकिँदै गर्दा खानेपानीजस्तो आधारभूत सेवा अवरुद्ध भएपछि स्थानीय बासिन्दा समस्यामा परेका छन् । नगरपालिकाले खानेपानी नि:शुल्क उपलब्ध गराउने घोषणा गरेपनि सञ्चालनका लागि आवश्यक विद्युत महसुल भुक्तानी गर्न नसक्दा सर्वसाधारणले सास्ती खेप्नुपरेको हो ।
कटहरिया नगरपालिका ५ स्थित खानेपानी उपभोक्ता समितिको विद्युत लाइन नेपाल विद्युत प्राधिकरणको मौलापुर शाखाले तीन दिनअघि काटेको थियो । लामो समयदेखि विद्युत महसुल नतिरेपछि लाइन काट्नुपरेको प्राधिकरणले जनाएको छ । विद्युत आपूर्ति बन्द भएसँगै खानेपानी वितरण समेत ठप्प भएको छ ।
नेपाल विद्युत प्राधिकरण, मौलापुर शाखाका प्रमुख उमेश दासका अनुसार खानेपानी उपभोक्ता समितिको करिब १० लाख रुपैयाँ विद्युत महसुल बक्यौता छ । पटक–पटक महसुल भुक्तानी गर्न ताकेता गर्दा पनि रकम नतिरेपछि बाध्य भएर विद्युत मिटर खोलिएको उनले बताए ।
महसुलको भार नागरिकमाथि
विद्युत महसुल भुक्तानी नभएको विषयमा स्थानीय जनप्रतिनिधिहरूले नगरपालिकाको नेतृत्वमाथि प्रश्न उठाएका छन् । कटहरिया नगरपालिका ४ का वडाध्यक्ष चन्दन कुशवाहाले नगरप्रमुख अजयप्रकाश जैसवालको लापरवाहीका कारण समयमै विद्युत महसुल भुक्तानी नभएको आरोप लगाए ।
उनका अनुसार विद्युत महसुल समयमै भुक्तानी गरिएको भए दशैंको मुखमा नागरिकले खानेपानीका लागि भौँतारिनुपर्ने अवस्था आउने थिएन । कटहरिया नगरपालिका ५ का वडाध्यक्ष सर्फलाल गुप्ताले पनि खानेपानीको विद्युत लाइन काटिएर सेवा अवरुद्ध भएको यो पहिलो घटना नभएको बताए ।
उनका अनुसार यसअघि पनि यस्तै समस्या पटक–पटक दोहोरिँदै आएको छ ।खानेपानी उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र साहले नगरपालिकाले खानेपानी नि:शुल्क उपलब्ध गराउने घोषणा गरे पनि सञ्चालनका लागि लाग्ने विद्युत महसुल भुक्तानी नगर्दा उपभोक्ता मारमा परेको बताए ।
उनका अनुसार पूर्वनगरप्रमुखको कार्यकालमा खानेपानी सञ्चालनबापतको विद्युत महसुल नगरपालिकाले नै भुक्तानी गर्दै आएको थियो । तर, पछिल्लो समय बक्यौता बढ्दै जाँदा खानेपानी सेवा नै बन्द हुने अवस्था आएको हो ।
घोषणा नि:शुल्कको, सेवा भने ठप्प
खानेपानी नि:शुल्क उपलब्ध गराउने घोषणा गर्नु र त्यसलाई नियमित रूपमा सञ्चालन गर्नु फरक विषय हुन् । आवश्यक बजेट, विद्युत महसुल भुक्तानी र व्यवस्थापनको सुनिश्चितता नहुँदा नि:शुल्क सेवाको घोषणा प्रभावकारी हुन नसकेको स्थानीयको गुनासो छ ।
तीन दिनदेखि खानेपानी नपाउँदा स्थानीय बासिन्दा नगरपालिका तथा जनप्रतिनिधिप्रति आक्रोशित बनेका छन् । दशैंको समयमा सरसफाइ, खाना पकाउने र दैनिक उपभोगका लागि पानी अत्यावश्यक हुने भएपनि सेवा बन्द हुँदा थप कठिनाइ भएको उनीहरूको भनाइ छ ।
उपभोक्ताहरूले विद्युत महसुलको बक्यौता तत्काल भुक्तानी गरी खानेपानी सेवा पुन: सञ्चालन गर्न माग गरेका छन् । माग सम्बोधन नभए नगरपालिकाविरुद्ध आन्दोलनमा उत्रिने उनीहरूले चेतावनी दिएका छन् । खानेपानीजस्तो अत्यावश्यक सेवाको निरन्तरता सुनिश्चित गर्नु स्थानीय सरकारको आधारभूत जिम्मेवारी हो ।
तर, विद्युत महसुलको बक्यौताका कारण हजारौँ नागरिक प्रभावित भएपछि कटहरिया नगरपालिकाको आर्थिक व्यवस्थापन र सेवा प्रवाहमाथि प्रश्न उठेको छ । अब मुख्य प्रश्न छ- विद्युत महसुलको बक्यौता कसले र कहिले भुक्तानी गर्ने तथा दशैंको मुखमा खानेपानीबाट वञ्चित नागरिकले सेवा कहिले पाउने ?




